काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले बिजुली धेरै बेचेर जलविद्युतकाे विकास गर्ने अभियानप्रति प्रश्न उठाएका छन्। शुक्रबार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बिजुली धेरै बेचेर जलविद्युतको विकास गर्ने अभियानप्रति प्रश्न उठाएका हुन्।
मन्त्री शर्माले बिजुली बेच्ने भन्दा पनि प्रयोग गर्ने कुरामा जोड दिन आग्रह गरे। ‘अहिले बिजुली बेच्नुपर्छ भन्ने छलफल भएको छ। बिजुली बेच्ने हो कि प्रयोग गर्ने हो? हामीले बिजुली बेच्न पाए गर्व गर्छाैँ। अब बिजुली बेच्ने जमाना गयो,' उनले भने, 'बिजुलीबाट हाइट्रोजन, एमोनिया बनाउने प्रविधि आइसक्यो। विश्वमा ६ जीको कुरा आइसक्यो, हामी दुई जीका कुरा गरिरहेका छौँ। हाम्रो सोचाइ साँघुरो छ।’
कार्यक्रममा मन्त्री शर्माले पूर्वाधार विकासको व्यवस्थापन राम्रो नहुँदा समस्या रहेको बताएका थिए।