काठमाडौं- बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी बेलायती दूतावास पुगेकी छन्। लैनचौरमा रहेको नेपालस्थित बेलायती दूतावासमा पुगेर शोक पुस्तिकामा हस्ताक्षर गर्दै राष्ट्रपति भण्डारीले उनको निधनप्रति दुख व्यक्त गरेकी हुन्।
दूतावासमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले महारानीको निधनबाट नेपालले एक असल मित्र गुमाएको बताएकी थिइन्। एलिजाबेथ द्वितीयको निधनपछि काठमाडौंस्थित बेलायती दूतावासले झण्डा झुकाएको छ भने दूतावासमा शोक पुस्तिका राखेको छ।
७० वर्ष बेलायतको राजगद्दी सम्हालेकी महारानीको बिहीबार दिउँसो बोलमोरलमा निधन भएको थियो। साँझ बकिङ्घम दरबारले विज्ञप्ति जारी गर्दै महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको जानकारी दिएको थियो। उनको निधनमा विश्वका थुप्रै देशले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।