काठमाडौं- लोकसेवा आयोगले खुला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम र अंकभार परिमार्जन गरेको छ।
आयोगले चालू आव २०७९/८० देखि हुने विज्ञापनमा लागू हुने गरी अप्राविधिकतर्फ शाखा अधिकृत, नायब सुब्बा र खरिदार वा सोसरहको प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम तथा अंकभारमा संशोधन गरेको जनाएको छ।
यी पदका पहिलो पत्रमा प्राप्त अंकको ५० प्रतिशत मात्र दोस्रो पत्रमा जोडिने आयोगको भनाइ छ।
'नायब सुब्बा पदमा लिखित परीक्षाको पहिलो पत्रमा कुनै उम्मेदवारले ६० अंक ल्याएमा यसको ५० प्रतिशत अंक मात्र दोस्रो पत्रमा जोडिनेछ। यसअघि पहिलो पत्रमा प्राप्त शतप्रतिशत अंक दोस्रो पत्रमा जोडिँदै आएको थियो,' लोकसेवाका प्रवक्ता तोयनारायण ज्ञवालीले भने।
मुख्य परीक्षा (दोस्रो पत्र)भन्दा वस्तुगत निर्णायकजस्तो हुन थालेपछि अंकभार संशोधन गरिएको ज्ञपाली बताउँछन्।
आयोगले अप्राविधिकतर्फ, सहसचिव वा सोसरह पदको द्वितीय चरणको सक्षमता परीक्षाअन्तर्गत मामिला प्रस्तुतीकरणको पूर्णांक पनि घटाएको छ। यसअघि द्वितीय चरणको सक्षमता परीक्षाअन्तर्गत मामिला प्रस्तुतीकरणको पूर्णांक ५० अंक रहेकामा २० ले घटाएर ३० अंक कायम गरिएको हो।