काठमाडौं- चैतन्य एकेडेमी नयाँ बानेश्वर शंखमुलले आगामी असोज १ र २ गते सुशासन र समृद्धि विषयक दुई दिने आवासीय राष्ट्रिय सेमिनार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित आगन्तुक रिसोर्टमा आयोजना गर्ने भएको छ। एकेडेमीले विगत १० वर्षदेखि देशको समग्र विकास, रुपान्तरण एवं समृद्धिलाई मुख्य विषय मानेर देशमा उपलब्ध विज्ञहरूको सहभागीतामा बौद्धिक बहस आयोजना गर्दै आएको छ।
त्यसैको निरन्तरता स्वरुप यस वर्ष 'सुशासन र समृद्धि' विषयक कार्यक्रम हुन लागेको एकेडेमीका निर्देशक एवं कार्यक्रम संयोजक गणेशप्रसाद जोशीले जानकारी दिए। ‘लामो राजनीतिक संक्रमण र दुई वर्ष कोरोना महामारीको प्रभावले नेपालको समृद्धि र विकासको यात्राले अपेक्षित गति लिन नसकेको कुरा आम नेपालीले महसुस गर्दै आएका छन्। सोही कुरालाई मध्यनजर गर्दै हामीले थोरै भए पनि यस विषयमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गर्न थालेका हौँ’, बिहीबार आयोजित पत्रकार सम्मेलनमा जोशीले भने।
कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनबाट हुने उनले जानकारी दिए। नेपाल सरकारका पूर्वमुख्यसचिव तथा सेमिनार सभाध्यक्ष डा. विमल कोइरालाले सरकारले अघि सारेको समृद्धिको अभियानलाई सहयोग पुग्ने गरी यसका व्यवहारिक पक्षहरूका विषयमा सम्बद्ध क्षेत्रका व्यक्तित्वसँग गहन छलफल गरी प्राप्त निष्कर्ष र सुझाव सरकारलाई पेस गर्ने बताए। राष्ट्र निर्माण सरकारको मात्रै नभएर आम नागरिक, पेसाकर्मी तथा व्यवसायी, शैक्षिक संस्था लगायतको जिम्मेवारीभित्र पनि पर्ने कोइरालाले बताए।
सेमिनार आर्थिक, सामाजिक राजनीतिक र शासकीय विषयमा केन्द्रित रहने उनको भनाइ छ। कार्यक्रममा वक्ता तथा विज्ञहरूका रूपमा सरकारी तथा निजी क्षेत्र गरी तीन दर्जन व्यक्तित्वको सहभागिता रहनुका साथै विभिन्न संस्थाको प्रतिनिधित्व गर्ने करिब २ सय जना सहभागी रहने आयोजकले जनाएको छ।
नेपाल सरकारका कर्मचारी, स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरू, प्रदेश सरकारका कर्मचारीहरू तथा जनप्रतिनिधिहरू, उद्यमी, व्यावसायी, अध्यापक, शिक्षाकर्मी, विद्यार्थी, इन्सुरेन्स क्षेत्रका प्रतिनिधिहरू, राजनीतिकर्मी, स्वतन्त्र अध्येता एवं राष्ट्रिय चिन्तन बोकेका व्यक्तित्वको कार्यक्रममा सहभागीता रहने एकेडेमीले जनाएको छ।उपराष्ट्रपति पुनले उद्घाटन गर्ने कार्यक्रमको समापन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्ने जनाइएको छ।