काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी ४ मंसिरमा हुने संघीय चुनावमा गठबन्धनलाई मिलाउने नाममा १०० सिट नलिई जाँदा पार्टीभित्र कलह निम्तिन सक्ने बताएका छन्।
बिहीबार नेपाल प्रेस युनियनले बीपी जन्मजयन्ती अवसरमा जनकपुरमा गरेको ‘बीपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेता शेखरले भने, ‘यो गठबन्धन विचित्रको छ। एकातिर जननायक बीपीले दिनुभएको विचार र सिद्धान्त बोकेको कांग्रेस छ। अर्कातिर आफूलाई कम्युनिस्ट भन्नेहरू छन्। उनीहरूसित हाम्रो केही कुरा पनि मिल्दैन। विचार र सिद्धान्त नमिले पनि गठबन्धनमा गयौं।’
डा. कोइरालाले संसद् पुनःस्थापनाको एजेन्डा सकिएपछि एमालेलाई हराउन र सरकार बनाउनकै लागि गठबन्धन बनेको दाबी गरे। ‘गठबन्धनबारे कांग्रेसमा धेरै छलफल भएको छ। स्थानीय तह चुनावमा पनि गठबन्धन गरेकै हो। त्यसबेला स्थानीय आवश्यकताअनुसार गठबन्धन भएको थियो। तर अहिले केन्द्रले गठबन्धन गर्ने निर्णय गरेको छ।’
गठबन्धन गरेर चुनावमा गएपछि पनि कांग्रेसले एकल बहुमत ल्याउन नसके पार्टीभित्र विग्रह हुने उनले सुनाए। ‘गठबन्धन एकल बहुमत ल्याउन गर्ने हो। सरकार बनाएर जान मात्रै गठबन्धन सोचेको भए त्यसले कांग्रेसलाई अप्ठेरोमा पार्छ। बहुमत बनाउन कांग्रेसले १०० सिट लिनैपर्छ। त्यसो नभए हुँदैन,’ उनले भने।
केता कोइरालाले माओवादी र समाजवादीहरू कांग्रेसलाई १०० सिट दिन तयार नभएको दाबी गरे। सिट बाँडफाँट तलमाथि भए कांग्रेसमा आउन सक्ने संकटबारे पटक–पटक नेतृत्वलाई सम्झाएको उनको धारणा छ।
‘हामीले पटक–पटक यी कुरालाई राखेका छौं। आज र भोलिमा हामीले केही न केही निर्णय गर्नैपर्छ। २ असोजमा समानुपातिकको उम्मेदवारी दर्ता छ। अहिले कांग्रेस अप्ठेरोमा छ,’ उनले भने। नेता कोइरालाले निर्वाचन घोषणा भइसकेको अवस्थामा संसद्को म्याद थप्ने प्रयास बेतुक रहेको बताए।