काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस भएका छन्। माओवादीको जिल्ला समन्वय समितिले अध्यक्ष प्रचण्डसहितका सात नेतालाई सर्लाही क्षेत्र नम्बर ३ को प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो।
२०७४ को निर्वाचनमा सर्लाही–३ बाट माओवादीबाट रामेश्वर राय यादव निर्वाचित भएका थिए। यस वर्ष यादव सर्लाहीका ३ वटा क्षेत्रबाट प्रत्यक्ष र दुई क्षेत्रबाट समानुपातिक उम्मेदवार सिफारिस भएका छन्। प्रचण्डसँगै माओवादी केन्द्रले नेताहरु प्रल्हाद बुढाथोकी, अच्युतम काफ्ले, रामेश्वर राय यादव, भरतकुमार थापा र सरस्वतीकुमारी मिश्रलाई पनि सर्लाही–३ बाट प्रत्यक्ष तर्फ उम्मदेवार सिफारिस गरेको छ।
सर्लाही–१ बाट माओवादीले नेताहरु प्रल्हाद बुढाथोकी, अच्युतम काफ्ले, लुमडी धिताल, हेमबहादुर श्रेष्ठ र धनश्याम देवकोटालाई प्रत्यक्षतर्फको उम्मदेवार सिफारिस गरेको छ। माओवादीले सर्लाही–२ बाट रामेश्वर राय र उमेश यादवलाई उम्मेदवार सिफारिस गरेको छ। सर्लाही–४ बाट रामेश्वर रायसँगै शिवपुजन रायकी पत्नी मीना यादव पनि माओवादी केन्द्रबाट उम्मेदवार सिफारिसमा परेकी छन्।