काठमाडौं– नेपाल उद्योग परिसंघको आयोजनामा बिहीबारदेखि दुई दिने पूर्वाधार सम्मेलन सुरु हुँदै छ। परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको संयुक्त आयोजनामा पूर्वाधार सम्मेलन गर्न लागेको हो।
परिसंघले दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकारसँगको साझेदारीमा सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ।नेपाल पूर्वाधार सम्मेलनमा यातायात, ऊर्जा, सहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख समस्या पहिचान गरिनेछ।
२०१९ मा भएको पूर्वाधार सम्मेलनपछि कोभिड–१९ का कारण सन् २०७६/७७ मा नेपालको आर्थिक वृद्धि २.३७ प्रतिशतले संकुचित भएको थियो। आर्थिक गतिविधि विश्वव्यापी रूपमा ठप्प हुँदा विश्वले आपूर्तिमा गम्भीर अवरोधको सामना गरिरहेको छ।
नेपालले आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। कोभिड–१९ पछिको प्रोत्साहन एवं उच्च अंकको आर्थिक वृद्धि हासिलका लागि पूर्वाधारमा लगानी बढाउनुपर्ने हुन्छ। यही लक्ष्यलाई भेट्याउने लक्ष्यसहित परिसंघले पूर्वाधार सम्मेलन आयोजना गर्न लागेको हो।