काठमाडौं- सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान नौ बजे बैठक बस्न लागेको हो।
बैठकपछि कार्यदलले तयार गरेको प्रतिवेदन आजै शीर्ष नेताहरूलाई बुझाउने कार्यदलको तयारी रहेको छ। बुधबार साँझ बालुवाटारमा बसेको बैठकले प्रतिवेदन तयार गरिसकेको बताइएको छ।
प्रतिवेदनको अन्तिम रूप भने आज बस्ने बैठकले दिने सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
यसअघि बुधबार प्रतिवेदन बुझाउने बताए पनि २४ घण्टामा थप गृहकार्य गरेर बिहीबार प्रतिवेदन बुझाउने सहमति भएको कार्यदलका एक सदस्यले जानकारी दिए।
बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन बिहीबार बिहान बैठक बसी शीर्ष नेतृत्वलाई बुझाउने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए। सिट बाँडफाँटका सम्बन्धमा कार्यदल सहमति नजिक पुगेको उनले बताए।
दलहरुलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको छ।
गठबन्धनमा आबद्ध दलहरुले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन्।
यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन्।
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटका लागि साउन २० गते कार्यदल गठन गरेको थियो। कार्यदलले पटक-पटक छलफल गरे पनि कुनै सहमति भने जुटाउन सकेको छैन।
गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन्।
दलहरूको आआफ्नै अडानका कारण सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदललाई निकै सकस परेको थियो।