काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन्। मेयर बालेन्द्रले मंगलबार लिखित जवाफ बुझाएको सर्वोच्च अदालतले जानकारी दिएको छ।
मंगलबार मेयर बालेनले बुझाएको लिखित जवाफमा आफूबाट अभिव्यक्त भएको शब्द भाषा र मनशायबाट अदालतको अवहेलना नहुने दाबी गरिएको छ। ‘मबाट अभिव्यक्त भएको शब्द, भाषा र मनसाय समेतबाट सम्मानित अदालतको अवहेलना हुन सक्दैन र अपहेलना वा अविश्वास पैदा गर्ने मनसायले नै अभिव्यक्त भएको पनि होइन,' मेयर बालेन्द्रको लिखित जवाफमा भनिएको छ, 'सम्मानित अदालतप्रति मेरो आस्था विश्वास र अपेक्षा सदैव सम्मानित रहिरहेको कुरा दृढ विश्वाससाथ निवेदन गर्छु।’
रचनात्मक आलोचनाबाट न्यायालय अझ सुदृढ हुने विश्वास आफूले लिएको भनिएको छ। आफ्नो अभिव्यक्तिको स्वतन्त्रतालाई संकुचन गरे महानगरवासीकै मौलिक अधिकार कुण्ठित हुन जाने पनि लेखेका छन्। ‘बहुआयामिक सन्तुलनमा आधारित मेरो विचार अभिव्यक्तिको स्वतन्त्रतालाई संकुचित गरिन्छ भने त्यसबाट प्रकारान्तरले महानगरवासी तथा आम नागरिकको मौलिक अधिकार कुण्ठित हुन जान्छ,' उनले लेखेका छन्।
नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना सर्वोच्चले नहटाउन आदेश दिएपछि मेयर बालेन्द्रले अदालतप्रति व्यंग्य कसेका थिए। यसपछि अधिवक्ता दीपकराज जोशीले शाहविरूद्ध दर्ता गराएको अवहेलना मुद्दामा सर्वोच्चले लिखित जवाफ बुझाउन भनेको थियो।