काठमाडौं- साउन २० गते गठन भएको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ। एक महिनादेखि छलफलमा रहेको कार्यदलले बुधबार सिट बाँडफाँटमा सहमति गरेर शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने बताइएको छ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलमा रहेका नेताहरु बुधबार साँझ साढे ५ बजेदेखि छलफलमा छन्। कुन दलले कति सिट लिने भन्ने विषयमा सहमतिको प्रयास भइरहेको बैठकमा सहभागी एक नेताले बताए। गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन्।
गठबन्धनमा २० साउनमै सिट बाँडफाँटबारे छलफल गर्न कार्यदल बनेको थियो। तर अहिलेसम्म सहमति भने जुटेको छैन। कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव तथा जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।