काठमाडौं– कुनै बेला ओखलढुंगा नेपाली कांग्रेसको संगठनात्मक हिसाबमा किल्ला रूपमा चिनिन्थ्यो। पञ्चायतविरुद्धको आन्दोलनका क्रममा ५६ जनाले बलिदानी गरेको जिल्ला हो, ओखलढुंगा। सहादत प्राप्त गर्ने सबै कांग्रेसमा आबद्ध थिए।
साविकको वरुणेश्वर गाविस अर्थात् अहिले मोलुङ गाउँपालिका २ नम्बर वडाबाट मात्रै चार जना लीला दाहाल, ठगी दाहाल, गोकर्ण कार्की र पेशल दाहाल सहिद भएका छन्। यत्ति मात्र होइन, २०५१ मा कांग्रेसमा आन्तरिक किचलो बढेर चरमोत्कर्षमा पुगेका बेला पनि तत्कालीन समय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला देशभर कहीँ नजिते पनि कांग्रेसले ओखलढुंगामा जित्छ भन्नेमा विश्वस्त थिए।
२०४६ मा प्रजातन्त्र पुनस्र्थापनायताका सबै निर्वाचनमा आफ्नो वर्चस्व राख्दै आएको कांग्रेसको विजयी यात्रा २०६४ यता भने रोकियो। त्यो बेला दुई निर्वाचन क्षेत्र रहेको ओखलढुंगाका दुवै निर्वाचन क्षेत्र माओवादीको हातमा पुग्यो। तर २०७० को निर्वाचन क्षेत्रमा कांग्रेसले एक निर्वाचन क्षेत्र कब्जा जमायो भने अर्को एमालेको हातमा पुग्यो। २०७० मा एक सिट हात पारेको एमालेले २०७४ मा वाम गठबन्धन गरेर सिंगै जिल्ला कब्जा गर्यो।
२०६४ मा चुनाव जितेको माओवादीले गत स्थानीय तह चुनावमा कांग्रेससँग गठबन्धन गरेर एउटा गाउँपालिका प्रमुख र केही वडा अध्यक्ष जितेको छ। तर एमालेले एक्लै मैदानमा भएका बेला पनि एउटा सिंगै गाउँपालिकामा प्रमुख, उपप्रमुखका साथै वडा अध्यक्षमा राम्रै जित निकालेको छ।
कांग्रेसभित्रको बेमेल
कांग्रेस किल्लाका रूपमा चिनिएको ओखलढुंगामा पार्टीभित्रको बेमेलका कारण पछिल्लो समय क्रमशः किल्ला भत्किँदै गएको छ। बेमेल कांग्रेसका सबै जिल्लामा छ, थियो र हुन्छ। तर ओखलढुंगाको बेमेल भने अलि फरक रहेको नेता/कार्यकर्ताको बुझाइ छ। बलबहादुर राई, बालाराज कार्की र गोपाल राई भएका बेला बेमेल हुँदा पनि मिलाउने सामथ्र्य राख्थे। तर अहिले त्यो सामथ्र्य राख्ने नेता नहुँदा बेमेल निरन्तर छ।
कांग्रेसका एक पुराना नेताका अनुसार पहिला गुटबन्दी भए पनि पार्टीका नेता÷कार्यकर्तामाथि न्याय हुन्थ्यो तर अहिले फरक गुटमा भएकालाई पत्तासाफ बनाउन नेताहरूले नै लाग्ने गरेका कारण चरम गुटबन्दीले मिलाउन समस्या भएको हो।
पञ्चायतविरुद्धको आन्दोलनमा ५६ जनाले सहादत प्राप्त गरेको किल्ला ओखलढुंगामा कांग्रेसभित्रको गुटगत राजनीति झांगिएपछि केन्द्रलाई आफ्नो समूह छान्नै कठिन भएकोछ। कांग्रेस मतदाताको रोजाइमा परेका रामहरि खतिवडालाई कुनोमा पार्ने प्रदीप सुनुवारको योजनाका कारण गठबन्धनका राम कार्कीलाई अगाडि सारिए कांग्रेसभित्र रडाको मच्चिने निश्चित छ।
खासगरी २०६४ को चुनावदेखि कांग्रेसमा चरम गुटबन्दी सुरु भएको हो। २०६४ मा पनि बलियो रहेको कांग्रेसले आन्तरिक बेमेलका कारण पराजय बेहोर्नुपर्यो। २०६४ मा तत्कालीन क्षेत्र नम्बर १ मा बालकृष्ण दाहाल र क्षेत्र नम्बर २ मा पुराना नेता बालाराज कार्कीले टिकट पाए। दाहाल र कार्की दुवै केन्द्रमा कोइराला गुटमा थिए।
दुवै क्षेत्रमा एउटै गुटले टिकट पाएपछि कांग्रेसमा असन्तुष्टि बढ्यो। क्षेत्र नम्बर २ मा अर्को क्षेत्रमा ल्याएर उम्मेदवार बनाएको भन्दै बागी उम्मेदवार उठाइयो। कार्की १ नम्बर क्षेत्रका मतदाता थिए। उनले २०४८ मा क्षेत्र नम्बर १ बाटै चुनाव जितेका थिए। ओखलढुंगा कांग्रेसमा चरम गुटबन्दी २०६४ देखि सुरु भएको हो। एक पक्षले अर्को पक्षलाई रोक्नैपर्छ भन्ने ढंगको गुटबन्दी भएको ती नेताको भनाइ छ।
२०६४ को चुनावमा बालाराज कार्कीलाई रोक्न प्रयोग भएको रणनीति २०७४ मा रामहरि खतिवडा र प्रदीप सुनुवारमाथि नै प्रयोग भयो। २०६४ मा कार्कीविरुद्ध अर्को क्षेत्रबाट उम्मेदवार ल्याइएको भन्दै विद्रोह गरेका ज्ञानेन्द्र रुम्दालीले २०७४ मा पनि प्रदीप सुनुवारविरुद्ध विद्रोह गरे। २०६४ मा खतिवडा र सुनुवारहरूको सहयोग पाएका रुम्दालीले २०७४ मा अर्को खेमाको आडभरोसा पाए। २०७४ मा संघ र प्रदेश चुनावमा कांग्रेसको हार भयो।
बालकृष्ण दाहालको आफ्नै समूह
ओखलढुंगा कांग्रेसमा बालकृष्ण दाहाल केन्द्रमा कोइराला समूहको नेतृत्व गर्छन्। उनी गत जिल्ला अधिवेशनमा तेजेन्द्र खनालसँग ८९ मतले पराजित भएका हुन्। जिल्लाको राजनीतिमा खतिवडा र सुनुवारजत्तिकै प्रभाव पनि राख्ने गर्छन्। २०६४ र २०७० मा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए। तर दुवै निर्वाचनमा कांग्रेसभित्रै असहयोग हुँदा पराजित भए।
जिल्लामा शालीन मानिने सहिद पुत्र दाहाल पद र ओहोदामा बसेका छैनन्। पटक–पटक जिल्लामा पराजित हुँदा पनि पार्टीका लागि दाहाल उत्तिकै खटिएका छन्। टिकट वितरणमा दाहालको समूहलाई नसमेटिए फेरि पनि कांग्रेस उम्मेदवारलाई असहयोग हुने अवस्था आउँछ।
संघमा रामहरि वा प्रदीप, जसले पाए पनि जित्ने प्रदेशमा बालकृष्ण दाहाल समूहका उम्मेदवार नसमेटिए समस्या हुने नेताहरू नै बताउँछन्। कांग्रेसले जित्ने प्रदेश भनेको प्रदेश ‘ख’ हो। तर यो प्रदेश २०७४ मा माओवादीले जितेको हो। अहिले माओवादीले यही प्रदेशमा दाबी गरेको छ। प्रदेश ‘क’मा भने गठबन्धन र नेकपा एमालेको मत हाराहारी छ। तर प्रदेश ‘क’ मा माओवादीले चिशंखुगढी गाउँपालिकामा प्रमुख जितेको छ। केही मत माओवादीका ‘क’ प्रदेशमा पनि छन्। प्रदेश ‘ख’ माओवादीको भागमा परे त्यसको फाइदा एमालेलाई पुग्ने शंका कांग्रेस नेताहरूको छ।
खतिवडा र सुनुवारकै फरक–फरक गुट
रामहरि खतिवडा र प्रदीप सुनुवार एकै खेमाका भए पनि कांग्रेसको १४औं महाधिवेशनबाट भित्री रूपमा दुई नेताबीच सम्बन्ध चिसिएको छ। एकले अर्कोलाई पछि पार्ने खेलमा दुवै नेता देखिन्छन्। जिल्ला अधिवेशनमै पनि दुई नेता एकअर्काविरुद्धमा थिए।
कांग्रेसभित्र जिल्ला राजनीतिमा खतिवडाभन्दा सुनुवार बलिया छन्। तर आममतदातामाझ खतिवडा लोकप्रिय छन्। गत जिल्ला अधिवेशनमा सभापति तेजेन्द्र खनाललाई दुवै नेताको समर्थन थियो। तर अन्य पदहरू तत्कालीन जिल्ला सभापति रहेका सुनुवारले खतिवडालाई ‘कर्नर’मा पारेका थिए। खतिवडाले आफ्नै स्वकीय सचिव हुकुम राईलाई समेत जिल्ला कार्यसमिति सदस्यको उम्मेदवार टिममा पार्न सकेनन्। जिल्लाको टिकटका लागि दुवै जना सभापति शेरबहादुर देउवाको समूहमा धाइरहेका छन्। तर देउवाका विश्वास पात्र को हुन् भन्ने कुरा यतिबेला महत्त्वपूर्ण हुने हो। प्रदीपलाई टिकट दिए रामहरि रिसाउने, रामहरिलाई टिकट दिँदा प्रदीप रिसाउने भएकाले दुईमध्ये कलाई दिने भन्नेमा देउवा पक्षले पनि टुंगो लगाउन सकेको छैन।
राम कार्कीको चर्चा
प्रतिनिधिसभाअन्तर्गत झापाको क्षेत्र नम्बर १ बाट यसअघि विजयी बनेका नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्की अर्थात् राम कार्की यस पटक ओखलढुंगाबाट चुनाव लड्ने चर्चा चुलिएको छ। कार्कीले जितेको झापाको निर्वाचन क्षेत्र–१ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको पनि क्षेत्र हो। सत्ता गठबन्धनमा सिट बाँडफाँटको तयारी भइरहँदा कार्की र शर्मामध्ये एक जनाले उक्त क्षेत्र छाड्नुपर्ने दबाब छ।
यही दबाबका बीच राम कार्की उनी जन्मिएको जिल्ला ओखलढुंगा जाने चर्चा चुलिएको हो। कार्की ओखलढुंगा चिशंखुगढीको दियालेमा जन्मिएका हुन्। २०७४ को निर्वाचनमा कार्कीले वाम गठबन्धनको बलमा शर्मालाई पराजित गरेका थिए। बौद्धिक र मार्क्सवादी चिन्तकसमेत रहेका कार्कीले कांग्रेसका प्रखर वक्ता शर्मालाई झन्डै ३ हजार मतान्तरले हराएका थिए।
यता, ओखलढुंगामा भने राम कार्की जाने हल्लाले बजार तातेको स्थानीय बताउँछन्। अझ ओखलढुंगाबाट माओवादी केन्द्रले कार्कीको नाम सिफारिस गरेपछि बजार हल्ल झनै तातेको छ। माओवादीले जिल्लाका नेताहरूलाई प्रदेश र समानुपातिकतर्फ सिफारिस गरेको छ। प्रतिनिधिसभातर्फ समानुपातिकमा केन्द्रीय सदस्य चम्पा कार्की र प्रदेश निर्वाचन क्षेत्र ‘क’मा रामकुमार कार्की र प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’मा पार्टीका केन्द्रीय सदस्य बाबुराम गौतम, प्रदेश सांसद मोहन खड्का, विनोद सुनुवार, खड्ग योगी (अनिल), सुदीप कटुवाल र मुकुन्द कार्कीलाई सिफारिस गरेको छ।
कांग्रेसबाट को–को?
ओखलढुंगामा यतिबेला कांग्रेसका तर्फबाट संघको टिकटका लागि चार जनाको नाम सिफारिस भएको छ। दुई जना केन्द्रीय सदस्य रामहरि खतिवडा र प्रदीप सुनुवारका साथै सहिद पुत्र बालकृष्ण दाहाल र ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहालको नाम सिफारिस भएको छ।
खतिवडा र सुनुवार देउवा निकट हुन् भने बालकृष्ण दाहाल शेखर कोइराला निकट हुन्। खिलानाथ दाहाल पूर्वउपसभापति विमलेन्द्र निधि निकट मानिन्छन्। समानुपातिकतर्फ महेश कोमोर्चा, गोमा केसी, हेमालक्ष्मी राई, बाला अधिकारी र डकेराज भट्टराईको नाम सिफारिस गरिएको छ।
त्यस्तै, प्रदेश ‘क’मा प्रत्यक्षतर्फ गंगाबहादुर कार्की, नन्दलाल गिरी, बद्री दाहाल, लिलाबल्लभ दाहाल, नवीन राई, दिनेश मगरलगायतको नाम सिफारिस गरिएको छ भने प्रदेश ‘ख’को प्रत्यक्षतर्फ कुमार लुइँटेल, रुद्र अधिकारी, शान्तिराज खड्का, पुरुषोत्तम लुइँटेललगायतको नाम सिफारिस गरिएको छ।
एमालेमा यज्ञ कि अमिर?
एमालेबाट भने वर्तमान सांसद तथा पार्टी केन्द्रीय सदस्य यज्ञराज सुनुवार, केन्द्रीय सदस्य किशोर अधिकारी, प्रदेश सदस्य तथा प्रदेश १ का पूर्वमन्त्री अम्बिरबाबु गुरुङले संघीय संसद्मा उम्मेदवारी दिने गरी लबिइङ गरिरहेको बुझिएको छ। सुनुवार एमालेमा माधव नेपाल समूहमा थिए। पछि भीम रावलको नेतृत्वमा भएको १० बुँदे सहमतिपछि सुनुवार एमालेमै रहेका हुन्। एमालेका अन्य नेताहरू नानीबाबु बुढाथोकी, तीर्थ सुवेदीलगायतले प्रदेशसभामा लड्ने तयारी गरेको बताइएको छ।
यस्तै, गठबन्धनले सिट बाँडफाँटको टुंगो नलगाइसके पनि जिल्लाको तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका नेताहरू टिकट लिन तँछाडमछाड गरिरहेका छन्। ओखलढुंगामा एमाले विभाजनको प्रभाव खासै देखिँदैन।
समाजवादी र जसपाका पनि उम्मेदवार
नेकपा एकीकृत समाजवादीले संघीय संसद् र प्रदेशसभामा उठ्न चाहनेहरूको नाम सिफारिस गरिसकेको छ। सो पार्टीका केन्द्रीय सदस्य नेत्र भट्टराईका अनुसार संघमा आफूसहित पूर्वसांसद मेखबहादुर खड्काको नाम सिफारिस भएको हो। यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’मा नेताहरू राजन खत्री, शारदा निरौला र सञ्जीव राई तथा प्रदेश ‘ख’मा कमल खड्का, यमचन्द्र कटुवाल, पूर्णकुमारी बुढाथोकीको नाम सिफारिस गरिएको भट्टराईले बताए।
उनका अनुसार समानुपातिकका लागि भने अम्बिकाप्रसाद भट्टराईको नाम सिफारिस भएको छ। जनता समाजवादी पार्टीले पनि नेत्रबहादुर नेम्बाङ, जुद्ध ढाक्रे र धीरेन्द्र रुम्दालीलाई अगाडि सारेको छ। जसपाले पनि आफ्नो पार्टीले प्रदेशको एउटा निर्वाचन क्षेत्र पाउनुपर्ने माग गरेको छ।
स्थानीय चुनावको मत
गत स्थानीय तह चुनावमा कांग्रेसले ५ वटा पालिका प्रमुखमा जित हात पारेको छ। एमाले माओवादी र जसपाले एक–एक वटा पालिका प्रमुख जितेका छन्। वडा अध्यक्षले पाएको मतका आधारमा पनि जिल्लामा कांग्रेस नै ठूलो पार्टी भएको छ। स्थानीय तह चुनावमा कांग्रेसको ३२ हजार २८८, एमालेको २९ हजार ५९१, माओवादीको ६ हजार ९१६, जसपाको २ हजार १०४, नेकपा एसको ५२१ र राप्रपाको १४६ मत देखिन्छ।