काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय निर्वाचनपछि शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्नपर्नु मागसहित जनतालाई आन्दोलनमा उतारिने बताएका छन्। बुधबार राजधानीमा क्रान्तिकारी फोर्स घोषणा गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
माओवादीले संविधान निर्माणका क्रममा शासकीय स्वरूप र निर्वाचन प्रणालीमा असहमति जनाएको दाबी गर्दै प्रचण्डले यसलाई सच्याउन अर्को आन्दोलन आवश्यक भएको सुनाए। ‘शासकीय स्वरूप र निर्वाचन प्रणाली मात्रै होइन, समाजवादी क्रान्तिका निम्ति जनतालाई अर्को आन्दोलनमा उत्प्रेरित गर्नुपर्छ,’ प्रचण्डले भने।
जनतालाई आन्दोलित बनाउन क्रान्तिकारी फोर्स अगाडि बढ्नुपर्ने सुझाव उनले दिए। आफूले जनवादी क्रान्तिको नेतृत्व गरेको र समाजवादी क्रान्तिको नेतृत्वका लागि माओवादी युवाहरू तयार हुनुपर्ने उनले बताए।