आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राजस्व अनुसन्धान विभागद्वारा एक वर्षमा ३४७ मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा एक वर्षमा ३४७ मुद्दा दायर

राजस्व चुहावट गर्ने २४८ तथा विदेशी विनिमय अपचलन गर्ने ९९ व्यक्ति तथा फर्मविरुद्ध मुद्दा दायर गरी साढे १० अर्ब मागदाबी गरिएको हो।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं– राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्षमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा संलग्न ३४७ व्यक्ति तथा संस्थाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले उक्त संख्याका व्यक्ति तथा संस्थाविरुद्ध मुद्दा दायर गरी १० अर्ब ५५ करोड रुपैयाँ बराबरको बिगो मागदाबी गरेको हो।

National life

राजस्व अनुसन्धान विभाग तथा विभाग अन्तर्गतका कार्यालयले गरेको अनुसन्धानबाट गैरकानुनी काम गरेको पाइएपछि विभिन्न व्यक्ति तथा फर्मविरुद्ध मुद्दा दायर गरिएको विभागका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले बताए।

उनका अनुसार राजस्व चुहावट गर्ने २४८ तथा विदेशी विनिमय अपचलन गर्ने ९९ व्यक्ति तथा फर्मविरुद्ध मुद्दा दायर गरिएको हो।

विभागले ५१ वटा मुद्दा दर्ता गरेको छ। यस्तै, इटहरी कार्यालयले ३, पथलैया कार्यालयले ४, बुटवल कार्यालयले ८ र कोहलपुर कार्यालयले ४ गरी ७० वटा मुद्दा दायर गरिएको छ। यी मुद्दामा २४८ जना प्रतिवादी छन्। विभागले दर्ता गरेको ५१ वटा मुद्दामा १९० प्रतिवादीसँग ८ अर्ब ६५ करोड रुपैयाँ बिगो दाबी गरिएको छ। 

यस्तै, इटहरी कार्यालयले दर्ता गरेको ३ वटा मुद्दामा ११ प्रतिवादीसँग १६ करोड ८१ लाख, पथलैया कार्यालयले दर्ता गराएको ४ वटा मुद्दामा १२ प्रतिवादीसँग ३ करोड ६८ लाख, बुटवल कार्यालयले दर्ता गराएको ८ वटा मुद्दामा २५ प्रतिवादीसँग ४७ करोड ५९ लाख र कोहलपुर कार्यालयले दर्ता गराएको ४ वटा मुद्दामा १० जना प्रतिवादीसँग १ करोड ८९ लाख रुपैयाँ बिगो तथा जरिमाना दाबी गरिएको छ।

Shivam cement

आर्थिक वर्ष २०७७/७८ मा राजस्व चुहावटको कसुरमा ८४ वटा मुद्दामा ३१७ प्रतिवादीसँग विभागले १९ अर्ब ९१ करोड जरिमाना तथा बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। यस्तै, विदेशी विनिमय अपचलन तथा अवैध हुन्डी कारोबारमा ५४ वटा मुद्दा दर्ता गरी ११४ जनासँग ४ अर्ब ९४ करोड रुपैयाँ बिगो दाबी गरिएको थियो।

गत आर्थिक वर्षमा विभागमा राजस्व चुहावटका ११७७ वटा सूचना प्राप्त भएका थिए। यसमध्ये ७० वटा मुद्दा दर्ता भएका, ३७४ को विभिन्न निकायमा लेखी पठाएको,  अनुसन्धानबाट तामेलीमा गएका २५७ वटा गरी ७०१ वटा फस्र्योट भएका र ४७६ वटा सूचना चालू अवस्थामा रहेको विभागले विवरण सार्वजनिक गरेको छ।

यस्तै, विदेशी विनिमय अपचलनतर्फ १०६ वटा सूचना प्राप्त भएकामा ५८ वटाको मुद्दा दर्ता भएको, ९ वटाको मुद्दा नचलाउने निर्णय भएको, ८ वटा अनुसन्धानबाट तामेलीमा लगिनुका साथै ७५ वटा फस्र्योट भएको र ३२ वटा सूचना चालु अवस्थामा रहेको विभागले बताएको छ। 

विभागले १ साउन २०७६ देखि सञ्चालनमा ल्याएको वेबमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) प्रयोगकर्ताको संख्या १ लाख ७४ हजार पुगेको छ। यो संख्या गत असार मसान्तसम्मको हो। आयात निर्यात तथा होलसेल व्यापार गर्ने फर्म भीसीटीएसमा आबद्ध हुनुपर्ने व्यवस्था छ। 

विभागले गत आर्थिक वर्षमा भीसीटीएसअनुसार काम नगर्ने ७०४ फर्म तथा कम्पनीलाई कारबाही गरेको छ। कारबाहीबाट ४ करोड १४ लाख रुपैयाँ जरिमाना प्राप्त भएको विभागको भनाइ छ।

प्रकाशित: Sep 07, 2022| 11:17 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्