काठमाडौं- सरकारले काठमाडौंसहित दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ। गृह मन्त्रालयले काठमाडौं, भक्तपुरसहित महत्त्वपूर्ण जिल्लाका सीडीओको सरुवा गरेको हो।
काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको रुपमा घनश्याम उपाध्याय आएका छन्। उनी ललितपुरको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत थिए। काठमाडौंका प्रजिअ गोविन्द रिजाल भने मन्त्रालयको कर्मचारी प्रशासन प्रमुखमा तानिएका छन्।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ललितपुर तानिएको छ। मन्त्रालयको प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई कास्कीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ।
जुम्लाकी प्रजिअ विजयाकुमारी प्रसाईं मन्त्रालय तानिएकी छन्। जुम्लाको प्रजिअमा मुकेशकुमार केसरीलाई पठाइएको छ।
दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ। दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ। सूचना विभागको महानिर्देशक रहेका हमाल केही समयअघि गृह मन्त्रालयमा सरुवा भएका थिए।
यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ। पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई मन्त्रालय तानिएको छ। पाँचथरको प्रजिअमा गणेश गैरेलाई पठाइएको मन्त्रालयले जनाएको छ।
सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअमा खटाइएको छ। उदयपुरका वीरेन्द्र यादवको सङ्खुवासभाको प्रजिअमा सरुवा भएको छ।