आइतबार, जेठ ३१, २०८३

भट्ट फल्ने फाँटका ड्रागन फल

मलेसियन प्रजातिको रातो ड्रागन फलका बिरुवा नवलपरासीबाट ल्याएको जानकारी दिँदै लगाएको एक वर्षमा नै फल्न थालेपछि आफू उत्साहित बनेको उनले बताए।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

गण्डकी- एक दशकअघिसम्म लटरम्म भट्ट फल्ने भएकाले गोरखाको पालुङटार नगरपालिका-७ च्याङ्ली भट्ट फाँटका रुपमा परिचित थियो। समयक्रमसँगै कृषिप्रतिको अनिइच्छाका कारण यतिखेर यो गाउँमा अहिले पहिलेको जस्तो भट्ट पाइँदैन। च्याङ्लीको कालो भट्टको बजारमा राम्रो माग भए पनि अहिले उक्त भट्ट नै लोपोन्मुख अवस्थामा पुगेको छ।

National life

त्यही भट्ट फाँटमा युवा केबी कुमालले यतिखेर १२ रोपनी क्षेत्रफलमा ड्रागनखेती थालेका छन्। एक वर्षअघिदेखि चार हजार बिरुवा लगाएका उनको गण्डकी ड्रागन फ्रुट तथा कृषि फार्ममा एक वर्षमा नै ड्रागन फलको उत्पादन सुरु भइसकेको छ। मुख्य पेशा बैंकिङ रहे पनि विद्यार्थीकालदेखि नै कृषिप्रति आकर्षित कुमालले एक हजार खम्बामा चार/चारवटा बिरुवाका दरले चार हजार बिरुवा लगाएका छन्।

मलेसियन प्रजातिको रातो ड्रागन फलका बिरुवा नवलपरासीबाट ल्याएको जानकारी दिँदै लगाएको एक वर्षमा नै फल्न थालेपछि आफू उत्साहित बनेको उनले बताए। हालसम्म ७० किलो बिक्री गरिसकेको र बजारमा प्रतिकिलो ८ सय रुपैयाँ दरले बिक्री भइराखेको उनले बताए।

कुमालको फार्ममा पृथ्वीराजमार्गको पोखरा-काठमाडौँ मार्गको डुम्रे बजारबाट तीन किलोमिटर तल नयाँ पुल बजारबाट करिब डेढ किमी दूरी पार गरेपछि पुग्न सकिन्छ। फार्मसम्म आउनका लागि ग्राभेलयुक्त बाटो रहेको उनले जानकारी दिए।

फार्म सञ्चालनसँगै एक जना युवाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अन्यले दिनप्रतिदिन अप्रत्यक्षरुपमा रोजगारी पाइराखेका छन्। तत्कालीन समयमा प्रतिबिरुवा पाँच सयका दरले चार हजार बिरुवा ल्याएका कुमालले त्यसको पिल्लर निर्माण, टायर खरिद आदि गरी हालसम्म करिब ६० लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिए। 

Shivam cement

यसका लागि बजार समस्या नरहेको जानकारी दिँदै उनले मुख्य बजारमा यसको माग रहेको बताए। उनका अनुसार सामान्यतः एउटा बोटबाट १५/२० किलोसम्म फल्ने देखिएको छ।  

यो फल दक्षिण अमेरिकाको मेक्सिकोमा फल्ने सिउँडी प्रजातिको रैथाने फल हो। यसको बोट सिउँडीको जस्तै हुन्छ। एशियामा पहिलोपटक भियतनामले भित्र्याएको यो फल  थाइल्यान्ड, मलेसिया र इन्डोनेशिया हुँदै पछिल्लो समयमा नेपालीको पनि आकर्षण बन्दै गएको छ।

हाइलोसेरुस अन्डटुस वैज्ञानिक नाम रहेको यसलाई मुन लभर्स, रात कि रानी, रातकी घण्टी, क्यान्डेलेरा आदि नामले पनि चिनिन्छ। नेपालमा पहिलोपटक २०५७ सालमा भित्रिएको मानिने यो फलको पछिल्ला वर्षमा ठाउँठाउँमा व्यासायिक खेती थालिएको छ।

यसको खेतीका लागि धेरै पानी तथा मल आवश्यक नपर्ने पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कँडरियाले जानकारी दिए। नेपालका धेरै स्थानमा यसको खेती गर्न सकिने बताउँदै उनले यसबाट सर्वसाधारणलाई आयआर्जनसँग जोड्ने पर्याप्त सम्भावना रहेको बताए।

कृषि महाशाखा प्रमुख कँडरियाका अनुसार ड्रागनका लागि दक्षिणी मोहडायुक्त, घमाइलो स्थान आवश्यक हुन्छ। यसको बिरुवा एक वा एक वर्षभन्दा बढी उमेरको बिरुवाबाट काटेर निकाल्न सकिन्छ। एकपटक उत्पादन सुरु गरिसकेपछि करिब २५ वर्षसम्म यसको उत्पादन निरन्तर लिन सकिन्छ।

बिरुवा लगाउँदा सकेसम्म एक फिटसम्मको बिरुवा आवश्यक हुने बताउँदै कुमालले सकेसम्म कलिलो बिरुवा लगाउन नहुने कुमालले जानकारी दिए।

कुमालले भट्ट फाँटमा ड्रागनखेती गरेसँगै च्याङ्लीका अन्य स्थानीय पनि दङ्ग छन्। गाउँमा नयाँ जातको खेती सुरु गरिँदा आफूहरूमा पनि यसबारे जिज्ञासा बढाएको स्थानीय बासिन्दा देउकुमारी कुमालले बताए। रासस

प्रकाशित: Sep 07, 2022| 08:20 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्