काठमाडौं- सत्ता गठबन्धनको आगामी संघ र प्रदेश निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठन भएको कार्यदलले बुधबार शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने भएको छ। कार्यदलको मंगलबार बसेको बैठकले बुधबार कार्यदलले सहमति गरेको विषयसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने भएको हो।
कार्यदलले कुन पार्टीलाई कति सिट हुने भन्ने विषयमा भने अन्तिम टुंगो लगाउन सकेको छैन। साउन २० गतेदेखि सुरु भएको सिटको भागबण्डा एक महिना बितिसक्दा पनि टुंगो लाग्न सकेको छैन।
लामो समयसम्म टुंगिन नसकेको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न निर्वाचनका लागि भइरहेको सिट बाँडफाँटमा नेपाली कांग्रेसलाई ८० सिट दिन सकिने बताएका छन्। कैलालीको गेटा विमानस्थलमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले एक सय सिट भन्दै आए पनि ८० सिट वरिपरीमा सहमत हुने सम्भावना रहेको बताएका हुन्।
माओवादीले ६० सिट वरिपरी पाउनेमा अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरे। ‘नेपाली कांग्रेसले सुरुमा सय भन्नुभाथ्यो। तर, ८० को वरिपरी आउने सम्भावना बढ्दो छ,’ उनले भनेका थिए, ‘हामीले पनि ६० भनेका छौँ, ६० बाट केही तलमाथि होला। तर, त्यसैको वरिपरी होला भन्ने हाम्रो विश्वास छ।’
प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालले २५–२५ सिटमा दाबी गरिरहेको पनि बताए। दलहरुले गरेको दाबीलाई आधार बनाएर सिट बाँडफाँटको टुंगो लगाइने उनको भनाइ छ।
‘समाजवादी पार्टीले २५ वरिपरी भन्ने कुरा गरेको स्थिति छ। जनता समाजवादी पार्टीले २५ को वरिपरी नै दाबी गरिराखेको स्थिति छ,’ प्रचण्डले भने, ‘यसैलाई आधार बनाएर अहिले हाम्रो सबै पार्टीका प्रतिनिधिहरु बसेर क्षेत्र र प्रदेशसम्म हेरेर टुंग्याउने, मिलेको जति मिलाउने, बाँकी रहेको शीर्ष तहमा बसेर टुंग्याउने भनेर लागिएको छ।’
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने गठबन्धनका दलबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढंगले सम्पन्न हुने बताएका छन्। नेपाल प्रेस युनियन केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूका लागि मंगलबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले गठबन्धनका दलबीच सिट बाँडफाँटको विषय सकारात्मक रूपमा अघि बढेको र छिट्टै टुङ्गोमा पुग्ने उल्लेख गरेका हुन्।