काठमाडौं–निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले नयाँ विमान थप गरेको छ । यसअघि पाँच वटा विमान सञ्चालन गर्दै आएको यतीले मंगलबार नयाँ विमान थपेको हो ।
छैटौं विमान सोमबार दिउँसो ३ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको कम्पनीका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताए ।
कम्पनीले ७० सिट क्षमताको उक्त विमान अस्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अस्ट्रेलिया, सिंगापुर, थाइल्यान्ड हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएका हुन् ।
एमएसएन नं ९८६ सिरिजको उक्त विमानको पहिलो उडान सन् २०११ मा भएको थियो । जम्मा १० हजार साइकल मात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य विमानभन्दा पछिल्लो विमान भएको कम्पनीले बताएको छ ।
कम्पनीले चालू आर्थिक वर्षमा अर्को विमान थप गर्ने लक्ष्य लिएको छ । विमान थप भएपछि पाँच वटा विमानलाई आधार बनाई उडान गर्ने र एउटा विमानलाई जगेडामा राखी मर्मत तथा उडान ढिला हुँदा प्रयोग गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले हाल काठमाडौंबाट चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायत ठाउँमा उडान भर्दै आएको छ ।