काठमाडौं– कलाकार तथा साहित्यकारहरुले ‘ऐना झ्यालको पुतली’ फिल्म हेरिरहँदा आफ्नै कथा हेरेको महसुस भएको बताएका छन्। सोमबार आयोजित फिल्मको प्रिमियरमा उनीहरुले फिल्मको कथा, निर्देशन र कलाकारको प्रशंसा गर्दै फिल्मले आफूहरूकै बालापन दुरुस्त उतारेको प्रतिक्रिया दिएका थिए।
फिल्मको प्रिमियरमा उपस्थित गायिका आनी छोइङ डोल्माले फिल्म असाध्यै सुन्दर बनेको बताउँदै यो फिल्म नेपालभरिका स्कुलमा देखाउन आग्रह गरिन्। ‘मैले आजसम्म हेरेका नेपाली फिल्ममध्ये सबैभन्दा सुन्दर लाग्यो। यो फिल्म सबै स्कुलले आफ्ना विद्यार्थीलाई देखाउनुपर्छ। यो फिल्म हाम्रो सामाजिक इतिहासको दस्तावेज हो,’ आनीको भनाइ थियो।
पहिलोपटक हेर्दा धित नमरेर दोस्रो पटक फिल्म हेर्न आएका एमाले नेता रघुजी पन्तले ‘ऐना झ्यालको पुतली’ ले नेपाली फिल्म कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ दिएको बताए।
‘यो नेपाली टेस्टको अर्गानिक कथा हो। यो राम्रा सिनेमाको कोटीमा पर्छ। नेपाली सिनेमा कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका हामी सबैका लागि जवाफ हो,’ पन्तले भने। साहित्यकार नयनराज पाण्डेले फिल्मलाई ५ मा ५ रेटिङ दिँदै फिल्म हेर्दा आफूलाई डेढ घण्टा मौन साधना गरेको महसुस भएको प्रतिक्रिया दिए।
‘कथा भन्ने शैली यति सहज त यसअघि मैले नेपाली सिनेमामा विरलै देखेको थिएँ या सायद देखेकै थिइनँ। यो सिनेमाले पीडाभन्दा पनि तपाईं हाम्रो दिमागमा प्रश्न उमार्दोरहेछ। सुन्दर स्वीटरझैं बुनिएको पटकथा र बुलन्द निर्देशनले यो सिनेमालाई भव्य उचाइ दिएको छ। यो नेपाली सिनेमाको ठूलो प्राप्ति हो,’ उनको प्रतिक्रिया थियो ।
नाटक निर्देशक विमल सुवेदीले फिल्मलाई आफ्नो जीवनकालमै हेरेको उत्कृष्ट नेपाली चलचित्रको सूचीमा सदैव रहने बताए।
निर्देशक दीपेन्द्र लामाले ‘मुकुण्डो’ र ‘नुमाफुङ’पछि ‘ऐना झ्यालको पुतली’ सन्तुष्टि दिने फिल्म रहेको बताए। ‘नुमाफुङ’ र ‘मुकुन्डो’पछि अर्थात् झन्डै २० वर्षपछि ‘ऐना झ्यालको पुतली’ मेरो लागि सबैभन्दा बढी सन्तुष्टि दिने नेपाली फिल्म भइदिएको छ। अर्ग्यानिक वा मौलिकताका नाममा बनिरहेका आलाकाँचा सिनेमाहरुको डंगुरमा यो सगरमाथाझैं अग्लो र चम्किलो बनेर आइपुगेको छ। राम्रो फिल्म बनाएको छु भनेर गमक्क परेर बस्ने वर्तमान फिल्मकर्मीहरु सुजित बिडारीहरुबाट विस्थापित हुने दिन टाढा छैन अब। ‘ऐना झ्यालको पुतली’ हेरेर इर्ष्या नै लागेको छ,’ उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै लेखेका छन्।
सिनेमा हेरेका दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, प्रकाश सपुत आदिले पनि फिल्ममा आफूलाई नै पाएको बताउँदै ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए।
यसैगरी स्तम्भकार तथा इतिहासकार सुजित मैनाली भन्छन्, ‘ऐना झ्यालको पुतली’ हेरेर घर फर्किइ ऐना हेर्दै यसो सम्झिहेरेको– यति धेरै मिहिनेतका साथ बनाएको यति राम्रो अर्को कुनै नेपाली फिल्मको सम्झनै आएन।’
आउँदो शुक्रबार प्रदर्शन हुने तरखरमा रहेको सिनेमामा सुजित बिडारीको लेखन तथा निर्देशन रहेको छ। सिनेमालाई आकाश पौडेल, प्रवीन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन्। संखुवासभामा त्यहीँकै स्थानीय कलाकारलाई लिएर बनाइएको फिल्मले उच्च शिक्षा लिन चाहने किशोरी सपनालाई शिशाको झ्यालमा अड्किएको पुतलीको विम्ब सादृश्य वर्णन गरेको छ।