विराटनगर– आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले मोरङबाट उम्मेदवार सिफारिस गरेको छ। प्रदेशसभाका १२ वटा क्षेत्रबाट प्रत्यक्षतर्फ ९५ जनाको नाम सिफारिस भएको छ।
उम्मेदवार सिफारिस भएकामध्ये प्रदेश समन्वय कमिटीले ६ (क) बाट स्थायी कमिटी सदस्य गुरु बरालको नाम सिफारिस गरेकोमा स्थानीय कार्यकर्ता असन्तुष्ट बनेका छन्। सो क्षेत्रबाट भदौ १८ गते प्रदेश समन्वय कमिटीले बरालसँगै ११ जनाको नाम सिफारिस गरेको छ। स्थायी कमिटी सदस्य बराललाई १ नं. मा राखेर सिफारिस गरेपछि सम्भावित उम्मेदवारहरु पनि झस्किएका छन्।
बरालसँगै सो क्षेत्रबाट सत्यनारायण चौधरी, मिरा भगत, युवराज बराल, नागेश पोखरेल, ज्ञानेन्द्र ओझा, लक्ष्मी फुयाँल, रिता न्यौपाने, हर्क परियार र राजीव गौतमको नाम सिफारिस भएको छ।
पछिल्ला २६ वर्षमा बरालले ५ पटक टिकट पाए। एक पटक उनले चुनाव जिते भने बाँकी परिणाम उनको पक्षमा आउन सकेको छैन। पहिलो पटक जिते बाहेक उनी हरेक निर्वाचनमा पराजय भोग्दै आएका छन्।
प्रदेशबाट उम्मेदवारको चर्चा शुरु हुँदा बरालको प्रदेशसभातर्फ उम्मेदवार बन्ने कतै हल्ला थिएन। गत फागुनमा राष्ट्रियसभा उम्मेदवार बनेका बरालले प्रदेश र प्रतिनिधिसभा कतै आकांक्षा नदेखाउलान् भन्ने स्थानीय नेता–कार्यकर्ताको बुझाइ थियो। तर, प्रदेशसभाको उम्मेदवार सिफारिसका दिन बराल मोरङ ६ (क) बाट प्रत्यक्षमा सिफारिस भएपछि अन्य सम्भावित उम्मेदवार झस्किन पुगे। केन्द्रीय नेताहरुको सुझावअनुसार तयारी गरिरहेकाहरु बराल नै उम्मेदवार बन्ने भएपछि असन्तुष्ट बनेका हुन्। स्थानीय एक नेताले भने, ‘प्रतिनिधिसभा, राष्ट्रियसभामा उम्मेदवार बनिसकेका उहाँ प्रदेशमा झर्नुहोला भन्ने थिएन।’
नेता बरालले गत राष्ट्रियसभा निर्वाचनमा पनि नाटकीय रुपमा टिकट लिएका थिए। देवराज घिमिरेको उम्मेदवारी फाइनल भइसकेपछि बरालले पनि नाम नलेखिएको हस्ताक्षर गरेको टिकट बोकेर काठमाडौंबाट आएका थिए। मनोनयनका दिन उनले आफ्नो नाम लेखेर उम्मेदवारी दर्ता गराएका थिए। उनको सो शैलीको स्थानीय नेता–कार्यकर्ताले नै रुचाएका थिएनन्।
को हुन् बराल?
पार्टी भूमिगत अवस्थामा ०४४ सालमा नेकपा माले मोरङको सचिव भएका उनी त्यसपछि लगातार पार्टी कमिटीमा छन्। ०४६ सालको जनआन्दोलनपछि नेता बराल पुनः मोरङको सचिव बने। उनी ०४६ देखि ०५० सम्म एमाले मोरङको सचिव बने। २०४९ देखि २०७८ सम्म लगातार पार्टी केन्द्रीय सदस्य भएका बराल चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुँदै स्थायी कमिटी सदस्य बने। नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा करिव ५० वर्षदेखि उनी सक्रिय छन्।
पछिल्ला २६ वर्षमा बरालले ५ पटक टिकट पाए। एक पटक उनले चुनाव जिते भने बाँकी परिणाम उनको पक्षमा आउन सकेको छैन। पहिलो पटक जिते बाहेक उनी हरेक निर्वाचनमा पराजय भोग्दै आएका छन्।
बराल समकालिन अन्य नेताहरुको तुलनामा पनि अवसर थुप्रै पाउने नेताभित्र पर्ने एक एमाले नेताले बताए। बरालले २०५२ सालमा तत्कालिन मोरङ क्षेत्र नम्बर ६ बाट संसदीय निर्वाचनमा टिकट पाए। नेपाली कांग्रेसका हरिनारायण चौधरीलाई पराजित गरी उनी निर्वाचित भए। २०५६ सालमा तत्कालिन मोरङ ६ बाट उनी नेपाली कांग्रेसका हरिनारायण चौधरीसँग पराजित भए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनले मोरङ ८ बाट टिकट पाए। बराललाई नेकपा माओवादीका गोपी आछामीले पराजित गरे।
बरालले पुनः दोश्रो संविधानसभा २०७० मा मोरङ ३ बाट टिकट पाए। उनी नेपाली कांग्रेसका दीलिप गच्छदारसँग कम मतान्तरले पराजित भए। २०७८ मा नेता बरालले राष्ट्रियसभा सदस्यको टिकट पाए। तर, नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेतसँग पराजित भए। राष्ट्रियसभा निर्वाचनमा बराल र बस्नेतले बराबरी ४ हजार ४८८ मत पाएका थिए। उनी गोलाप्रथाबाट पराजित हुन पुगे।
बराललाई किन अघि सारियो?
प्रदेशसभाबाट सिफारिस भएका स्थायी कमिटी सदस्य बराललाई मुख्यमन्त्रीका रुपमा एमालेले अघि सार्ने सम्भावना छ। उनलाई मुख्यमन्त्रीको दावेदारीका रुपमा अघि सारेको बताइएको छ। एमालेबाट स्थायी कमिटीका दुई नेताको नाम प्रदेशसभामा सिफारिस भएको छ।
पूर्व प्रदेश मन्त्री भइसकेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीलाई झापा ५ (ख) बाट सिफारिस गरिएको छ। मुख्यमन्त्रीका रुपमा अघि सारिए पनि बरालले यस विषयमा पार्टीमा छलफल हुन बाँकी रहेको बताउँदै आएका छन्।
६ (क) को चुनावी अंकगणित के छ?
२०७४ को प्रदेशसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाली कांग्रेसका चुमनारायण तवदार निर्वाचित भएका थिए। गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका जीवन आचार्यलाई तबदारले २ हजार ४३ मतान्तरले पराजित गरेका थिए। क्षेत्र नं. ६ (क) मा सुन्दरहरैचा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ वडा, बुढीगंगा गाउँपालिका र विराटनगर–४ पर्छन्। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा तीन स्थानीय तहका १४ वटा वडामध्ये एमालेले ४ वटा, कांग्रेसले ८ वटा, माओवादी र स्वतन्त्रले १–१ वटामा निर्वाचित भएका छन्।
वडागत रुपमा एमालेले १८ हजार ८९४, कांग्रेसले १८ हजार ८१३, माओवादी केन्द्रले ३ हजार ४४२, नेकपा एकीकृत समाजवादीले १ हजार ११५, जनता समाजवादीले १ हजार ५७७ र स्वतन्त्रको १ हजार ४२६ मत रहेको छ। एमाले र गठबन्धनवीच प्रतिष्पर्धा हुने निश्चित भएकाले क्षेत्र (ख) मा एमाले भन्दा गठबन्धन ६ हजार ५३ मतले अघि छ। सो क्षेत्रबाट हालै बुढीगंगा गाउँपालिकाका एमाले उम्मेदवार नै माओवादी केन्द्रमा प्रवेश गरेपछि एमालेलाई थप समस्या हुने स्थानीय कार्यकर्ताको बुझाइ छ।