शनिबार, जेठ २, २०८३

माछा र घोंगी बिक्री गरेर मनग्ये आम्दानी

कैलालीको भजनी नगरपालिका-३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्षातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

कैलाली- कैलालीको भजनी नगरपालिका-३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्षातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ। धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर सदुपयोग गर्दै आएकी छिन्।

National life

मञ्जु मात्रै होइन उनको चार जनाको परिवारको दिनचर्या माछा मार्दै बित्ने गरेको छ। दिनभर माछा, गंगेटा, घोंगीको खोजीमा हुने उनको परिवारले त्यहाँबाट राम्रो आम्दानीसमेत गर्दै आएको छ।

‘पहिला आफ्नै लागि भनेर माछाको खोजिमा कुला तथा नहरमा पुग्छौँ। धेरै भएपछि बिक्री पनि गर्छौं।’ उनले भनिन्, ‘सिजनमा राम्रो भयो भने दश हजारभन्दा बढीका झिंगा माछा र घोंगी बिक्री गर्छौं।’

उनले विद्यालय बिदा भएको दिनमा छोराछोरीहरूको दैनिकी पनि खोला किनारमै बित्ने गरेको बताउछिन्। बर्षातको समयमा थारु बस्तीमा सिँचाइ कुलोमा समेत अधिकांश ठाउँमा माछा मार्ने जाल हालेको देख्न पाइन्छ।

त्यसैमा वर्षाको फुर्सदको समयमा थारु महिला दिउँसोको खानासमेत लिएर माछाको खोजिमा जाने थारु महिलाका लागि एक परम्परा जस्तै बनिसकेको छ। दिनभर माछा मार्ने र साझ त्यहीँ माछा तरकारीकोरूपमा थारु समुदायले प्रयोग गर्दै आएका छन्।

बढी भएको झिंगा माछा सुकाएर राम्रो मूल्यमा बिक्रीसमेत हुँदै आएको सुवर्ण चौधरीले बताए। केही हिउँदको महिनाको लागि समेत जोहो गर्दै आएका छन्। बर्षातको समयमा मारेका झिंगा माछा सुकाएर हिउँदमा खाने गरेको भजनी नगरपालिका वडा नं-६ कि कृष्णी थारुले जानकारी दिइन्।

‘थोरै भए आफैँलाई ठिक्क हुन्छ। बढी भए बिक्री गर्छौं। बिक्री भएन भने सुकाएर राख्छौँ।’ उनले भनिन्, ‘हामीले मारेको माछा खेर जाँदैन। घरका प्रायः सबै जना दिनभर माछा मार्न भनेर हिँडेका हुन्छौँ।’

घरका पाँच जना सदस्यले अलिअलि गरेपनि एकदुई केजी झिंगा माछा साँझको समयमा संकलन हुने गरेको उनको भनाइ छ। बर्षातको समयमा थारु महिला मात्रै नभएर पुरुष पनि माछा मार्ने जाल लिएर खोला तथा पोखरीमा व्यस्त हुने गरेको देख्न सकिन्छ।

‘खासमा धान खेती तयार नहुँदासम्म काम केही हुँदैन। त्यो समयको सदुपयोग गरेका हौँ।’ सुवर्णले भने, ‘खाली बस्नुभन्दा केही न केही काम गर्नुपर्छ भन्ने मानसिकता हाम्रो हुन्छ। त्यही भएर पनि बर्षातको समयमा माछा मारेर बित्छ।’

माछा मार्नका लागि महिलाले हेल्काको प्रयोग गर्ने गरेका छन् भने पुरुषले जालको। ठूला माछाभन्दा पनि झिंगा माछाको खोजिमा थारु महिला व्यस्त रहने गरेको भजनी-६ कि बिन्द्रा चौधरीले बताइन्।

‘लामो समयदेखि खाल्डाखुल्डीमा पानी जमेको भए हेल्का हाल्यो भने झिंगा माछा आइहाल्छन्। त्यस्तै परेको दिनमा एक केजीभन्दा बढी झिंगा माछा पनि भेटाउन सकिन्छ। त्यसैअनुसार घोंगी पनि।’ उनले भनिन्, ‘त्योभन्दा रमाइलो भनेको साथीहरूसँगै हुने रमाइला कुराहरू दिन बितेको थाहै हुँदैन।’

महिला समूहमा माछाको खोजिमा जाने गर्दछन्। समूहमा गएका महिला काम भने सामूहिक गर्दैनन्। पानी जमेको खाल्डाखुल्डीमा होस वा अन्य कुनै कुला नहरमा माछा मार्नको लागि जाँदा जोखिम पनि उत्तिकै छ।

फोहोर पानीमा दिनभर रहँदा त्यसबाट छालासम्बन्धी रोगको जोखिम छ भने किरा फट्याङ्ग्राको जोखिम उत्तिकै छ। पहिलेदेखि नै यस्तै अवस्थामा हुर्केका कारण होला कुनै डर त्रास नलाग्ने गरेको भोजराज चौधरीले बताए।

‘डर हुन्छ तर पनि साथीहरूसँगै हुँदा त्यस्तो कुनै महसुस नै हुँदैन।’ उनले भने, ‘घरका लागि तरकारी, बजार बिक्री गरेपछि पैसा आउने भएपछि अलिकति जोखिम त मोल्नुपनी पर्छ।’

बजारमा अहिले घोंही प्रतिकेजी एक सय, झिंगा माछा प्रतिकेजी पाँच सयमा बिक्री हुने गरेको छ। टीकापुर-८ मा रहेको जितु कटेजका सञ्चालक जितबहादुर चौधरीले होटलमा माछा बिक्री गर्न महिला आफैँ आउने गरेको बताए।

उनले महिलाले माछा मार्ने कामलाई रोजगारीकोरूपमा लिएको बताउछन्। ‘खेतीपातीको काम सकिएपछि हिउँदको समयमा मजदुरी गर्ने महिला बर्षातको समयमा माछा मार्न व्यस्त हुन्छन्।’ उनले भने।

‘बर्षातको समयमा मजदुरीको काम नपाइने भएकाले पनि थारु समुदायका लागि माछा मार्न काम आकर्षणमा परेको हो।’ थारु महिलाका लागि यो क्रम कार्तिक महिनासम्म चल्ने जनाइएको छ।  -रासस

प्रकाशित: Sep 06, 2022| 07:32 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।