काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुस् भनेपछि पक्राउ परेका सेक्युरिटी गार्डलाई हिरासतमुक्त गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहा गर्न निर्देशन दिएका हुन्।
शुक्रबार मन्त्री श्रेष्ठ व्यक्तिगत कामका लागि ठमेलस्थित छाया सेन्टर पुगेका थिए। त्यहाँ उनीभन्दा अगाडि थुप्रै सेवाग्राही भए पनि उनले आफू मन्त्री भएको भन्दै लाइन मिच्न खोजेका थिए। तर सुरक्षागार्ड गुरुङले ‘मन्त्री भए पनि लाइनमा बस्नुस्’ भनेर आग्रह गरेका थिए।
लाइनमा बस्नुस् भनेर आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उनले गृहमा पत्र पठाएका थिए। गृहको पत्र प्रहरी प्रधान कार्यालय। काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं प्रहरी परिसर हुँदै प्रहरी वृत्त दरबारमार्गमा पुगेको थियो। गुरुङलाई दरबारमार्ग प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।