काठमाडौं- नेपाल क्लियरिङ हाउस लिमिटेडले मोबाइल बैंकिङबाट गरिने फन्ड ट्रान्सफरमा ‘ट्वीस्ट अफ टु’ अफर सार्वजनिक गरेको छ। सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा उक्त अफर सार्वजनिक गरेको बैंकले जनाएको छ।
अफर अन्तर्गत हरेक हप्ता मोबाइल बैकिङको प्लेटफर्मबाट कम्तीमा दुईवटा फन्ड ट्रान्सफर गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताहरुमध्ये १०२ जनाले १०२ क्यासब्याक प्राप्त गर्ने जनाएको छ। उक्त अफर अफर १९ भदौदेखि २९ असोज २०७९ सम्म लागू हुनेछ।
आइतबारदेखि शनिबार सम्मको समयावधिमा लकी ड्र मार्फत साप्ताहिक विजेताहरु छानिने नेपाल क्लियरिङ हाउसले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। त्यसको जानकारी हरेक हप्ताको अन्त्यपछि कनेक्ट आईपीएस डटकममा प्रकाशन गरिने जनाइएको छ।
फन्ड ट्रान्सफर गर्नका लागि मोबाइल बैंकिङ एपमा लग–इन गरी, ‘फन्ड ट्रान्फर’ वा सेन्ड मनि मा क्लिक गरी फन्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसको छनोट गर्नुपर्ने छ। फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका लागि मोबाइल बैकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यो अफरले थप प्रर्वद्धन गर्ने विश्वास जनाएको छ। कनेक्ट आईपीएसको फन्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङमा उपलब्ध रहेको छ।