काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले डडेल्धुरा लगायनका जिल्लामा गठबन्धन गर्न नहुने त्यहाँका कार्यकर्ताको कुरा अस्वाभाविक नभएको बताएको छन्। कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले कांग्रेस एक्लै बलियो भएको स्थानमा भागबन्डा गर्दा सिट बाँड्नु पर्ने भएकाले गठबन्धन गर्न नहुने भनी आवाज उठाउनु स्वाभाविकै भएको उनको भनाइ छ।
कार्यकर्ताका तहमा उक्त कुरा स्वाभाविक भएपनि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले भने डडेल्धुरामा गठबन्धन गर्न हुँदैन भनेर नभएको उनको जिकिर थियो। 'डडेल्धुरालगायतका जिल्लामा गठबन्धन हुने नहुने कुरा त्यहाँका नेता कार्यकर्ताको कुरा हो। त्यो कुरा सभापति देउवाको कुरा होइन। बलियो भएको स्थानमा हामीले गुमाउनु हुँदैन भन्ने कुरा अस्वभाविक होइन,' उनले भने।
चुनावपछि को प्रधानमन्त्री बनाउने भन्ने विषयमा छलफल गर्ने बेला अहिले नभएको बताए उनले गठबन्धन सफल बनाउन लाग्नुपर्ने बताए। 'चुनावपछिको प्रधानमन्त्री अहिले छलफलको विषय होइन। कांग्रेस नेतृत्वदायी भूमिकामा रहन्छ। अहिले गठबन्धन सफल बनाउने हो,' प्रवक्ता महतले भने।
कांग्रेस-माओवादीको तालमेललाई एमालेले अलोकतान्त्रिक गठबन्धन भनेकोतर्फ लक्षित गर्दै उनले एमाले र माओवादी तालमेल गर्दा चाहिँ लोकतान्त्रिक हुने तर कांग्रेससँगको गठबन्धन कसरी अलोकतान्त्रिक भन्दै प्रश्न समेत गरेका थिए। वर्तमान सरकारले जनजीविकाका मुद्दामा राम्रो काम गरेको उनको दाबी थियो।