आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पैसा उठाएर सहकारी भाग्न थालेपछि विभागले मगायो तीनपुस्ते विवरण

पैसा उठाएर सहकारी भाग्न थालेपछि विभागले मगायो तीनपुस्ते विवरण

बचतकर्ताको पैसा लिएर भाग्न थालेपछि सहकारी विभागले सहकारीका सञ्चालकको तीनपुस्ते विवरण माग गर्न थालेको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- बचतकर्ताको पैसा लिएर भाग्न थालेपछि सहकारी विभागले सहकारीका सञ्चालकको तीनपुस्ते विवरण माग गर्न थालेको छ। सहकारीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भाग्न सक्ने भएकाले विभागले तीनपुस्ते विवरण मगाइएको सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले जानकारी दिएका हुन्। 

National life

विवरण नहुँदा सञ्चालक र सीईओ भागे उनीहरूको विवरण नपाइने समस्या देखिएपछि विभागले यस्तो काम सुरु गरेको हो। सम्पत्ति रोक्का र पक्राउपुर्जी जारी गर्न पनि विवरण चाहिने भएकाले ठूला कारोबार गर्ने भाग्न सक्ने सम्भावित जोखिम भएकाले सहकारीका सञ्चालकहरूको तीनपुस्ते मगाइएको हो। विभागले आफ्नो कार्यक्षेत्रका १२२ वटै सहकारी संस्थाको तीनपुस्ते विवरण माग गरेको हो। 

आइतबार सहकारी पत्रकार समाज (सीजेएन)को १२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै रजिस्ट्रार पण्डितले तीनपुस्ते विवरण मगाइएको जानकारी दिए। उनका अनुसार केही दिनअघि विभागले विवरणका लागि पत्र काटेको र हालसम्म अधिकांश सहकारीको विवरण आइसकेको जानकारी दिए। 'विभागले गरेको अध्ययनमा कतिपय सहकारीको तरलता शून्य रहेको पाइएको छ। कतिपयको भने ४० प्रतिशतभन्दा पनि माथि रहेको पाइएको छ,' उनले थपे, 'सहकारीमा समस्या पर्दा सम्बन्धित व्यक्तिलाई समयमा सुसूचित गर्न सकियोस् भन्ने प्रयोजनका लागि विवरण संकलन गरिएको हो।'

विभागले मर्जरका सम्बन्धमा केही प्रावधानलाई थप प्रष्ट पार्न समेत लागेको बताए। 'पछिल्लो समयमा सहकारी एक आपसमा मर्ज भइरहेका छन्। मर्ज भएको तीनदिनभित्र विभागलाई जानकारी दिनुपर्ने हो।  तर त्यो काम सम्बन्धित सहकारीले गरिरहेका छैनन्,' रजिस्टार पण्डितले थपे, 'सञ्चालक समिति पनि समावेशी देखिँदैन। एकदुई दिनभित्रमा नै सहकारीलाई मर्जसम्बन्धी निर्देशन दिने तयारी गरिरहेको छ।’

सहकारी संस्थाहरुको नियमन पनि कारोबार रकमको आधारमा छुट्याइने उनले जानकारी दिए। हाल भूगोलको आधारमा कार्यक्षेत्र निर्धारण गरी सोही आधारमा संघ, प्रदेश र स्थानीय तहले नियमन गर्दै आएको छ। तर अब भने कारोबारको आधारमा विभागले नियमन गर्ने तयारी भइरहेको पण्डितले जानकारी दिए। त्यसका लागि विभागले नियमावली संशोधनको प्रस्ताव पेस गरिसकेको छ। पण्डितका अनुसार कार्यक्षेत्रका आधारमा नियमन गर्दा प्रभावकारी नियमन हुन नसकेकाले कारोबारको आधारमा नियमन गर्ने तयारी गरेको हो। 

Shivam cement

प्रकाशित: Sep 04, 2022| 14:53 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्