काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको पहलमा नेकपा (विप्लव) र जनमुक्ति पार्टीका केन्द्रीयस्तरका नेताहरुले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेकपा (विप्लव) समूह र जनमुक्ति पार्टीका कञ्चनपुर जिल्लाका उच्च तहका नेताहरुले पार्टी परित्याग गरी शनिबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित विशेष कार्यक्रममा सामूहिक रुपमा नेपाली कांग्रेस प्रवेश गरेका हुन्।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुलाई नेपाली कांग्रेसको सदस्यता दिई पार्टी प्रवेश गराएका हुन्। नेपाली कांग्रेस प्रवेश गर्नेहरुमा नेकपा (विप्लव) वैकल्पिक केन्द्रीय सदस्य रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रविन्द्र सुनार, श्रमिक समुदाय नेपालका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का कञ्चनपुर अध्यक्ष कल्पना परियार, काठमाडौं–कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी, नेकपा नेता चन्द्र टमट्टा र काठमाडौं–कञ्चनपुर सम्पर्क मञ्चका केन्द्रीय सचिव राघव परियारलगायत नेता कार्यकर्ता रहेका छन्।
पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रमेश लेखक, केन्द्रीय सदस्य एवम् संसद प्रकाश स्नेही रसाइली, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा लगायतका नेताहरुसमेत सहभागी थिए।