काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निटक केन्द्रीय सदस्यहरुको भेला बेलाएका छन्।
पार्टीको १४औं महाधिवेशन अनिश्चित बनेपछि आक्रामक बनेका नेता पौडेलले सोमबार दिउँसो ३ बजे महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा आफूनिटक केन्द्रीय सदस्यहरुको भेला बोलाएका हुन्। मंगलबार बस्ने केन्द्रीय समिति बैठकका लागि रणनीति तय गर्न पौडेलले भेला बोलाएका हुन्।
भदौ १६ देखि तोकिएको महाधिवेशन सार्ने तयारी भइरहेको छ।सोमबार बिहान मात्रै पौडेलले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाप्रति 'सर्वत्र असफल' बनेको भन्दै आक्रोश पोखेका थिए।
'पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ। असाधारण परिस्थिती भनेर एक वर्ष थपियो। देशको संविधानलाई समातेर छ महिना बढाइयो। आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ,' सोमबार बिहानै फेसबुकमा पौडेलले भनेका छन्, 'यहाँभन्दा वर्तमान नेतृत्त्वको चरम असफलता र लापरवाही अरु के हुन्छ? यो देशकै विडम्बना हो। सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन्।'