तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन्। दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६औं वार्षिकोत्सवमा शनिबार नेता पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिन आफ्नो भूमिका देशले खोजेको बताएका हुन्।
उनले भने, ‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादका लागि राजनीतिमा लागेको हुँ। त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ।’ पौडेलले सिंगै देशलाई एकै पटक सुशासन दिन नसके पनि त्यसको जग बसाल्ने दाबी गरे।
उनले भने, ‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेरै म सक्रिय राजनीतिमा छु। देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टि मसँग छ। कार्यकारी भूमिका खेलेर सुशासन दिने सामथ्र्य पनि छ।’ पौडेलले सुशासन भए मात्रै राष्ट्रले समृद्धि हासिल गर्न सक्ने भन्दै राष्ट्रलाई स्वतन्त्रता, सम्वद्र्धन र हितका लागि नैतिक, सुशासन दिने क्षमता चाहिने बताए।
उनले भने, ‘सुशासन दिनका लागि कार्यकारी पदमा पुग्नेसँग नैतिक बल चाहिन्छ । त्यो मसँग छ। म देश बनाउने कर्तव्यबाट भाग्ने मान्छे होइन। विचलित नभई १४ वर्ष जेल बसें। देश बनाउने आँट मसँग छ।’ पौडेलले युवा र पाका नेता दुवै मिलेर देश विकास गर्नुपर्ने धारणा राखे। युवाले राजनीतिमा आउनै हुन्न भन्ने होइन र पाकाले राजनीति गर्नुहुँदैन भन्नै नहुने उनको तर्क छ।