काठमाडौं– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आगामी ४ मंसिरको चुनावमा सरकारले धाँधलीको प्रयत्न गरे प्रतिवादमा उत्रिन नेता/कार्यकर्तालाई निर्देशन दिएका छन्।
शनिबार सुनसरीको दुहवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रहरी प्रशासनको बलमा सरकारले चुनावमा धाँधली गर्न सक्ने हुँदा नेता/कार्यकर्ताले त्यसलाई विफल पारिदिनुपर्ने बताए।
सुनसरी क्षेत्र नम्बर ३ बाट कांग्रेस नेता विजयकुमार गच्छदारसँग पराजित एमाले नेतृ भगवती चौधरीको प्रसंग अगाडि सार्दै अध्यक्ष ओलीले चुनावमा धाँधली भए एमाले कार्यकर्ता त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने धारणा राखे। यसअघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको बताए।
अध्यक्ष ओलीले भने, ‘यसभन्दा अगाडि दुई पटक भगवती चौधरीले जितेको क्षेत्र हो, यो। तर हार घोषणा गराइएको छ। प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ। म प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीलाई त्यसो नगर्न आग्रह गर्छु।’
अध्यक्ष ओलीले नेकपा एमाले गड्यौलाजस्तो नभएको भन्दै दुई वटा दाँत भएजस्तो डस्न तयार हुनुपर्ने बताए। उनले बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र जनअभिमतको रक्षा गर्न तयार हुन कार्यकर्तालाई निर्देशन दिए। आउँदो चुनावमा एमालेको बहुमत आउने ठोकुवा गर्दै अध्यक्ष ओलीले देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताले हार्न नहुने बताए।