शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विद्युत् महसुल नतिर्ने ६ हजार बढी ग्राहकको लाइन काटियो

विद्युत् महसुल नतिर्ने ६ हजार बढी ग्राहकको लाइन काटियो

प्राधिकरणले लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत महसुल नतिर्ने ती ग्राहकको आर्थिक वर्ष २०७८/७९ मा विद्युत् काटेको हो।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

हेटौंडा नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले विद्युत् महसुल नतिर्ने ६ हजार ४७७ ग्राहक विद्युत् लाइन काटिदिएको छ। लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत महसुल नतिर्ने ती ग्राहकको आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले विद्युत् काटेको हो।  

National life

कार्यालय प्रमुख दीपेन्द्रराज द्विवेदीका अनुसार विद्युत् लाइन काटेर कारबाही गरेपछि उनीहरुबाट १७ करोड ५१ लाख २८ हजार जरिमानासहित विद्युत् महसुल उठेको छ। तीमध्ये सोही  अवधिमा ५ हजार ७७६ ग्राहकको लाइन जोडिएको बताइएको छ। लाइन काटिएकाबाट कूल उठ्नुपर्ने रकम १९ करोड ९५ लाख ७७ हजार २०८ रहेको थियो।

उक्त कारबाही सो प्रदेश कार्यालयअन्तर्गतको हेटौंडा वितरण केन्द्र, टाँडी वितरण केन्द्र, भरतपुर वितरण केन्द्र, चनौली वितरण केन्द्र, सिन्धुली वितरण केन्द्र तथा पालुङ वितरण केन्द्रले  विद्युत् सेवा लिएर महसुल नबुझाएपछि कारबाही गरेएको कार्यालयको विवरणमा उल्लेख छ। ती कार्यालयबाट विद्युत् चोरी गर्ने गत आर्थिक वर्ष २०७८/७९ मा १९४ ग्राहकलाई कारबाही गरी २१ लाख ४२ हजार ४५४ रुपैयाँ जरिमाना संकलन भएको थियो।

त्यस्तै, विभिन्न कारणले हुने विद्युत् चुहावट पनि अघिल्लो वर्षको तुलनामा कम भएको प्रदेश कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्षमा विद्युत् चुहावट घटेको छ। विद्युत् चुहावट अघिल्लो वर्षमा ७ दशमलव ७२ प्रतिशत थियो भने गत आर्थिक वर्षमा घटेर ७ दशमलव ३७ प्रतिशतमा झरेको हो।    

ती कार्यालयमा विगतका तुलनामा विद्युत् ग्राहक संख्या बढेर यस वर्ष ३ लाख ३ हजार ८४५ भएको बताइएको छ। सो अवधिमा ७३ करोड २९ लाख २१ हजार युनिट विद्युत् महसुल बिक्री भएको र त्यसबापत ५ अर्ब ७६ करोड ६० लाख १७ हजार विद्युत् महसुल संकलन भएको प्रदेश कार्यालयका लेखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए। 

Shivam cement

कार्यालयअन्तर्गतको विद्युत् चुहावट घट्दै गएको प्रदेश डिभिजन कार्यालयको तथ्यांकमा उल्लेख छ। विवरणअनुसार हेटौंडा वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा ५ दशमलव ११ प्रतिशत चुहावट थियो भने गत आर्थिक वर्षमा ३ दशमलव १५ प्रतिशतमा झरेको, पालुङ वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा २६ दशमलव ५५ प्रतिशत विद्युत् चुहावट थियो भने गत आर्थिक वर्षमा २५ दशमलव ९२ प्रतिशतमा झरेको, टाँडी वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा १२ दशमलव २७ प्रतिशतबाट गत आर्थिक वर्षमा १२ दशमलव १८  प्रतिशतमा चुहावट झरेको बताइएको छ। 

त्यस्तै, भरतपुर डिभिजन केन्द्रको अघिल्लो आर्थिक वर्षमा विद्युत् चुहावट ५ दशमलव ४८ प्रतिशत थियो भने गत आर्थिक वर्षमा ५ दशमलव ४५ प्रतिशतमा झरेको, चनौली वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा १४ दशमलव ५१ प्रतिशत चुहावट थियो भने गत आवमा २० दशमलव ९१ पतिशतमा झरेको तथा सिन्धुली विद्युत् वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा विद्युत् चुहावट १६ दशमलव ५२ प्रतिशत थियो भने गत आवमा ११ दशमलव ९८ प्रतिशतमा विद्युत् चुहावट झरेको विवरणमा बताइएको छ।–रासस  

प्रकाशित: Sep 03, 2022| 11:47 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्