धादिङ- नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन्।
एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘माधव नेपालले जहिल्यै पार्टी निर्माण गर्नुभएको छ। कम्युनिष्ट पार्टीको संगठन बनाएर विशाल पार्टी बनाउने नेता हो उहाँ। लाखौँलाख कार्यकर्ता निर्माण गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउने नेता हो उहाँ। शान्ति, संविधान र लोकतन्त्रका निम्ति जीवन समर्पण गरेको नेता हो माधव नेपाल। त्यसकारण तपाईहरु ढुक्क हुनुस्, माधव नेपालले नेतृत्व गरेका पार्टी कहिल्लै कमजोर हुदैन।’
पार्टी विद्रोहको औचित्यबारे मन्त्री चौधरीले कार्यकर्तालाई बताएका थिए। माधव नेपालले किन विद्रोह गर्नुपर्यो, राजेन्द्र पाण्डे, गंगालाल तुलाधरले किन विद्रोह गर्नु पर्यो भन्ने पक्कै लागेको होला। अथवा हामीहरुले नयाँ पार्टी निर्माण किन गर्नु पर्यो भन्ने मुख्य कुरा हो। यदि हामीले विद्रोह नगरेको भए नेपालमा कम्युनिष्ट पार्टीको औचित्य समाप्त हुन्थ्यो। त्यत्रो ठूलो पार्टी बनाएर पनि हुँदोरहेनछ भन्ने जनतामा मनोविज्ञान निर्माण हुने थियो,' उनले भने।
करिब एक घण्टा प्रशिक्षणात्मक मन्तव्य राखेका मन्त्री चौधरीले ओली नेतृत्वको एमाले सबैभन्दा भ्रष्ट, सबैभन्दा घुसखोरी र सबैभन्दा धेरै दलालहरुको अखडा बनिसकेपछि विद्रोह अनिवार्य बनेको धारणा राखे। हरेक युगमा अन्याय, शोषण र दमनका विरुद्ध विद्रोह भएको इतिहास रहेकाले एमालेबाट गरिएको विद्रोह माक्र्सवादी दर्शन शास्त्रीय कोणबाट समेत जायज रहेको मन्त्री चौधरीको भनाई थियो।
कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय अनुशासन आयोग सदस्य कृष्णहरि श्रेष्ठ, जिल्ला सचिव सुवास खतिवडा, तामाङ महासंघका केन्द्रीय उपाध्यक्ष विर बहादुर तामाङ लगायतले आफ्ना भनाई राखेका थिए।