काठमाडौं– नेपालीहरू गोर्खाली हुन् नि! हार नमान्ने। त्यसैले उनीहरूले पनि हार मानेनन्, जसले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा रोबोट बनाइरहेका थिए।
भोलिपल्ट रोबोटको प्रदर्शन थियो। तर २० अगस्ट राती १० बजेतिर रोबोट पुतपुताउन थाल्यो। त्यो रात झन्डै एक वर्षको मिहिनेतमा पानी फेरिएको थियो। छिनमै रोबोटबाट निस्किएको धुवाँले कोठा ढाक्यो। छेवैमा भएका साथीहरू धमिला देखिन थाले। त्यति हुँदाहुँदै ‘अहँ! अब सकिन्न होला’ भन्ने भावना कसैमा आएन।
रातीको १ बज्यो। समस्या ज्यूँका त्यूँ रहिरह्यो। गर्नुपर्ने के हो, कसैलाई थाहा थिएन। रोबोटको त्यो चिप जलेको थियो, जुन चीनबाट एक महिना लगाएर मगाइएको थियो। तर अहिले रातारात चीनबाट चिप लिएर आइपुग्न सम्भवै भएन। तर ‘हामी सक्छौं, गरेर देखाउँछौं, देशलाई सहभागी गराउँछौं,’ सबैले यही सोचिरहेका थिए।
अनि बन्न थाल्यो, नयाँ कोडिङ लेभल। कोही डिबर्ग गर्न थाले, कोही बिग्रेका एसटीएम चेक गर्न। सर्किट पुनः जोडिन थाल्यो। बिग्रिएका सामान राख्ने ठाउँमा भएका बोर्डको पुनः जाँचियो। काम गर्ने-नगर्ने पार्टपुर्जाको पहिचान हुन थाल्यो।
‘सरर..! सबैथोक आगो लाग्यो। रोबोट धुवाँधुवाँ भयो। सात घन्टापछिको प्रतियोगिता सम्झेर मेरो घुँडा काप्न थाल्यो। भनौं, हामी सबै गलिसकेका थियौं। थुचुक्क भुइँमा बस्ने अवस्था थियो। सबैका आँखा रसाएका थिए। तर अलिकति आशा झल्किन्थ्यो,’ घटनालाई मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत पवन श्रेष्ठ यसरी सम्झिन्छन्।
भोलिपल्ट रोबोटको प्रदर्शन थियो। तर २० अगस्त राती १० बजेतिर रोबोट पुतपुताउन थाल्यो। त्यो रात झन्डै एक वर्षको मिहिनेतमा पानी फेरिएको थियो।
त्यहाँ दौडधुप सुरु भयो तर उनीहरूले छाडेनन्। टिम स्पिरिटको मूल मर्म सम्झाउने दिन थियो, त्यो। त्यही सामूहिकतामा गरिएको कामबाट समाधानको बाटो पनि निस्कियो। ‘हामीले बिग्रिएको ठानेर राखेकै ठाउँको एउटा बोर्डले काम गर्यो। त्यसलाई मर्मत गरेर जोड्यौं,’ त्यो घटनालाई सम्झँदै टिमका विश्वास खतिवडा(दोस्रो वर्ष मेकानिकल)भन्छन्, ‘बिहानको ७ बजे चल्न सक्ने बनायौं। १० बजे हाम्रो प्रतियोगिता नै थियो। यसमा इलेक्ट्रोनिक्सका कुस्मी, रस्विन र प्रज्वलले रातभरि काम गरे।’
यसरी कामै नलाग्ने अवस्थामा पुगेको रोबोटलाई मर्मत गरेर चलाएपछि त्यसले एसियाली देशका उत्कृष्ट विश्वविद्यालय सम्मिलित प्रतियोगिता ‘एबियू रोबोकोन’मा तेस्रो पुरस्कार जित्यो। जुन चीन, जापानजस्ता टिमले पनि जित्न सकेनन्। नेपालको रोबोटले भारतको दुई र थाइल्यान्डको एक टिमलाई हराएको थियो। सेमिफाइनलमा हङकङकलाई हराउन सकेन।
‘हङकङको इन्जिनियरिङ प्राविधिक सीप धेरै भएर उनीहरूको रोबोटको मेकानिज्म तीव्र, परिस्कृत र स्वचालित थियो। त्यसैले पनि हामी उनीहरूसँग सकेनौं जस्तो लाग्थ्यो,’ नेपाल समयसँगको कुराकानीमा पवनले भने।
इलिया र भिक्ट्रीको नाम एवं काम
भिक्ट्री(आर वान) नाम कसरी राखियो? उनको जवाफ छ, ‘जितका लागि चाहिने मुख्य हतियार नै योसँग भएकाले यसलाई भिक्ट्री राखिएको हो।’ प्रतियोगितामा हङकङले आरवानकै क्षमता धेरै राम्रो भएर पनि जित निकाल्न सकेको हो।
भिक्ट्री रोबोटले लघोरी(२०० मिमिका पाँच डिस्क) ढाल्नुपर्ने थियो। यसका लागि बल प्रक्षेपण (प्रोजेक्टाइल मोसनमा) गर्न सक्ने रोबोट बनाउनुपर्यो। अनि रोबोटमा रोलर संयन्त्र बनाइयो। यसको माथिको भाग घुमेर तोकिएको लक्ष्यमा बल प्रहार गर्न सक्छ। ‘लक्ष्यमा प्रहार गर्न पिच एंगल र य एंगलको मिलाइएको हुन्छ। दुवै कोण मिलाएपछि ठाउँमै बल प्रहार गर्न सकिन्छ,’ इन्जिनियरिङ तेस्रो वर्षका प्रजु पन्तले भने।
रोबोटमा मोटर राखिएको हुन्छ, जसबाट बेरियर परिवर्तन हुन्छ। त्यसले मोटरलाई कम भार पर्छ। यहाँ इन्टरनल स्पेयर गियर पनि राखिएको हुन्छ। त्यसलाई यो मोटरले चलाउँछ। यसले हावामा रहँदा बलको गति नियन्त्रण गर्छ। यसरी सबै कुरा निर्धारण भएर बल मेसिनबाट निस्कन्छ।
भिक्ट्री रोबोटले एउटा मात्र होइन, विभिन्न बल पालैसँग हान्नुपर्ने हुन्छ। त्यसका लागि ‘न्युमेरिकल्ली एक्चुएटेड सर्टिङ मेसिन’ बनाइएको थियो। त्यसको विशेषता एक पटकमा एउटा बल मात्र जान दिने हो। यस्तै, संयन्त्रबाट यो रोबोटले लघोरी ढाल्ने र ‘बीओएच(पोला राखिएका बल)’ ढाल्ने काम गर्छ।
रोबोट(आरटू)को नाम इलिया नै किन? जवाफमा तेस्रो वर्ष एरोस्पेसका विद्यार्थी सुनिल खड्का भन्छन्, ‘इलियाको पार्ट डिजाइन गर्दा भाइहरूले विभिन्न भागको नाम इलियाका भनी सेभ गरेर राखेका रहेछन्। त्यो भन्दाभन्दै रोबोटको नामै इलिया भइगयो। यसको काम दुई वटा हुन्छ, ढलेको लघोरी(फमको डिस्क) उठाउने अनि डेस्कमा भएका बललाई टिपेर अर्को रोबोटलाई पास गर्ने। पाँच लघोरीको व्यास क्रमशः ५०० मिमि, ४२५ मिमि, ३५० मिमि, २७५ मिमि र २०० मिमि रहेको छ।
रोबोटमा मोटर राखिएको हुन्छ, जसबाट बेरियर परिवर्तन हुन्छ। त्यसले मोटरलाई कम भार पर्छ। यहाँ इन्टरनल स्पेयर गियर पनि राखिएको हुन्छ। त्यसलाई यो मोटरले चलाउँछ।
‘फरक व्यास भएका डिस्कलाई समाउन फरक हात चाहिन्छ। चेनको मद्दतले हातको व्यवस्था गरिएको छ। ती दुई हातले डिस्क च्यापिन्छ। चेनलाई ड्राइभिङ गियर भएको मोटर ड्राइभरले ड्राइभ गर्छ। यसले गर्दा आवश्यक व्यासमा लघोरीको डिस्क रोबोटले समाउन सक्छ,’ सुनिलले भने।
डिस्क पक्रिएपछि त्यसलाई फरक फरक उचाईमा राख्नुपर्छ। प्रत्येक लघोरीको उचाइ २०० मिमि भएकाले पाँच लघोरीको १००० मिमि हुने भयो। त्यो उचाइसम्मका लागि अर्को मोटर ड्राइभर राखिएको थियो।
रोबोटलाई बल टिप्ने काम पनि लगाउनुपर्ने थियो। यसको दायाँ साइडमा रोलर राखिएको हुन्छ। त्यसले डेस्कमा राखिएको बललाई चेनमा पास गर्छ। रोलरलाई तटस्थ ठाउँमा राख्दा बल चाँडै नआउने भएर ‘हिन सपोर्ट’ राखेर गर्दा यसले बल चाँडै लियो। त्यतिबेलै ‘हिन’ सपोर्र्ट नै राखिएको हो। त्यसपछि लिफ्टबाट बल माथि जान्छ। त्यहाँ स्टोर हुन्छ। त्यहाँबाट पहिलो रोबोटलाई बल पास गर्छ।
यति थाहा पाइरहँदा मनमा प्रश्न उठ्न सक्छ, यो रोबोट कति कार्यक्षमताको हो? ‘रोबोटको कार्यक्षमता यसको लुब्रिकेसन, शक्ति खर्चिने उपकरणको आधारमा भन्नुपर्दा यो निकै क्षमतावान रोबोट हो,’ पवनले भने, ‘उपकरणले गर्ने काम, पार्टपुर्जाले धान्ने लोडसँगै त्यसको लुब्रिकेसनको आधारमा यो बलियो देखिन्छ। एउटा मेसिनमा जति मेकानिज्म थप्यो, हरेक ठाउँमा कार्यक्षमता घट्दै जान्छ। त्यसैले हामीले मिल्ने ठाउँ सीधा सम्पर्क गरेका छौं।’
पावरको प्रयोगका लागि भने रोबोकोनले निर्धारित गरिसकेको थियो। यद्यपि सबै कुरा मिलाएर हेर्दा पनि अन्य देशले बनाएको रोबोटभन्दा नेपाली विद्यार्थीले बनाएको रोबोट क्षमतावान् भएको ठान्छन्, पवन।
‘जुन उपाधि जित्यो, त्योअनुसारको नै क्षमतावान रोबोट थियो। क्षमतामै हेर्ने हो भने सेमिफाइनमा इन्डोनेसियासँग खेल्न पाएको भए हामी दोस्रो पनि हुन सक्थ्यौं कि भन्ने लागेको छ,’ उनले भने।
हङकङकबाहेक अरू देशको तुलना गर्दा गति, विश्वसनीयता र मेकानिज्मको रुवासपनको आधारमा नेपालको रोबोट गज्जबको थियो। राष्ट्रिय प्रतियोगितामा ८० टिमलाई हराएको भारतीय रोबोटका हातहरू पनि हल्लिरहेका देखिन्थे। कति टिमको हात झरेका देखिए। कुनै राबोट स्टार्ट नै भएनन्।
एबीयू रोबोकोन र रोबोटिक्स क्लब
नेपालमा रोबोटिक्स क्लबको स्थापना २००१ मा भयो। त्यो वर्ष नै जापानमा भएको एबीयू रोबोकोनमा नेपालले सहभागिता जनायो। उतिबेला प्राध्यापक राजेशकाजी कायस्थलाई नयाँ जिम्मेवारी थपिएको थियो।
दिउँसो कक्षा थियो। समय मिलाएर रोबोटको पनि काम हेर्नुपर्ने। कति रात त उनी कलेजमै सुते। ‘घर गएको दिन त्यहाँ विद्यार्थीले गरेको कामबारे फोनमा जानकारी लिइरहन्थें। सबै ठीक छ भनेपछि मात्र म सुत्थें। त्यसरी हामीले सुरु गरेको क्लब हो, रोबोटिक्स,’ प्राध्यापक कायस्थले भने।
पहिलो संस्करणमा नेपालले बनाएको रोबोट धेरै कमजोर थियो। त्यसको ब्याट्री धेरै कमजोर देखेर एक जापानी नागरिकले किनेर सहयोग गरेका थिए। त्यो रोबोट ब्याट्री पुरानो भएर कामै गर्न नसक्ने अवस्थामा थियो। ‘सुरुबाटै इनोभेसनमा ध्यान दिएका हौं। विद्यार्थीलाई यो नगर, त्यो नगर भनेनौं,’ उनले भने, ‘त्यतिबेलादेखिको मिहिनेतको फल अहिले देखिएको छ।’
तिनै क्लबका विद्यार्थीले २०७२ भूकम्पका बेला पनि पीडितलाई सहयोग गरे। क्लबको माध्यमबाट सामाजिक काम पनि गरिरहेको रोबोटिक्स क्लब रोबोकोनमा लगातार २१ वर्ष सहभागी बनेपछि पहिलो पटक तेस्रो स्थान हात पार्न सफल भएको छ। त्यति मात्र होइन, नेपालले नाङसे अवार्डसमेत पायो।
रोबोटको विश्वकपमा देशको पट छुट्याइएर समूह बनाइएका भए पनि एसियाली प्रतियोगितामा त्यस्तो छैन। त्यसैले नेपाल लक्की ड्रबाट सजिलो समूहमा प¥यो। तर अब नेपाललाई आउँदा दिनमा यो स्थान कायम राख्न चुनौती थपिएको छ।
‘हामीले यो प्रोजेक्ट अगाडि लैजानुपर्छ। हाम्रा विपक्षीलाई नेपाल भन्नेबित्तिकै झस्का परोस्। नेपाल खरो प्रतिस्पर्धीका रूपमा उत्रियोस् भन्ने लागेको छ,’ प्राध्यापक कायस्थले भने।
नेपालमा रोबोटिक्स क्लबको स्थापना २००१ मा भयो। त्यो वर्ष नै जापानमा भएको एबीयू रोबोकोनमा नेपालले सहभागिता जनायो। उतिबेला प्राध्यापक राजेशकाजी कायस्थलाई नयाँ जिम्मेवारी थपिएको थियो।
२० वर्षको अवधिमा मेकानिकल, इलेक्ट्रोनिक्सलगायतका २०० विद्यार्थीले यो प्रतियोगितामामार्फत रोबोट बनाइसकेका छन् भने ४०० जनाले रोबोटको कोर्स लिएका छन्।
कान्तिपुरका प्रमुख उपसम्पादक (चिफ सब–एडिटर) अतुलकुमार मिश्र भन्छन्, ‘२२ वर्षदेखि राजेशकाजी सरले संघर्ष गरिरहेको भएरै रोबोटिक्स क्लब चलिरहेको छ। सहभागी बन्न सकिरहेको छ।’ विद्यार्थीहरूको लगनले नै उपाधि सम्भव भएको उनी ठान्छन्। मिश्र भन्छन्, ‘जसमा केही गर्ने भोक छ, त्यसलाई स्थिर राखौं। अबको ४० वर्षपछि योभन्दा ठूलो उपलब्धि देख्न पाइनेछ। त्यो नै ठूलो कुरा हो।’
सीमित स्रोतमा ठूलो उपलब्धि
नेपाली रोबोटले निकै राम्रो प्रदर्शन गरे पनि चीन, जापानका रोबोटसँग तुलना गर्न नहुने तिनै विद्यार्थीहरू बताउँछन्। हङकङसँग सुरुमै हार बेहोरेपछि अघिल्लो चरणमा जानबाट वञ्चित भएका चीन र जापानले आफ्नो रोबोटमा प्रयोग गरेको प्रविधि उच्च कोटिको थियो।
‘नेपालसँग चीन, जापानको तुलना नगरे पनि हुन्छ किनभने हामी आर्थिक स्रोतका रूपमा धेरै पछि छौं। हामीले प्रयोग गरेका सामान पनि तिनै देशबाट मगाइएको हो,’ नेपाल समयसँगको कुराकानीमा सुनिलले भने, ‘उनीहरूका देशमा जुन शोध र प्रविधि प्रयोग भइरहेको हुन्छ, त्यो हिसाबमा हामीले धेरै राम्रो काम गरेजस्तो लागेको छ।’
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष शिवलाल भुसाललाई पनि त्यस्तै लाग्छ। स्रोत–साधन कमीका बाबजुद प्रतियोगितामा सहभागी भएर जित हासिल गरेकामा खुसी छन्, शिक्षाध्यक्ष भुसाल। उनी भन्छन्, ‘यहाँ टिमवर्कले सहयोग गरेको छ। मिहिनेत, पसिनाले काम गरेको छ। विश्वविद्यालयका तर्फबाट हामीले गर्ने सहयोगमा कमी राख्ने छैनौं।’
विदेशका ठूला विश्वविद्यालयमा एउटा रोबोटमा गरिने लगानी बराबरले नेपालमा एउटा विश्वविद्यालय चलिरहेको बताउँछन्, मिश्र।
उनले भने, ‘चीन, जापानमा एउटा रोबोटमा गरिने लगानीले हाम्रोमा विश्वविद्यालय नै चलिरहेको छ। आईटीमा कति लगानी गरिन्छ, त्यो हामीलाई थाहा छ। यहाँ कति लगानी गरिएको छ, त्यो पनि थाहा छ।’
नेपालको जुन लगानीमा रोबोट बनेको छ, त्यो टिमवर्कबाट सम्भव भएको उनको तर्क छ। यो नतिजाले आउने प्रतियोगितामा विपक्षी सजग हुने उनको विश्वास छ। उनी भन्छन्, ‘मानिस कहाँबाट आएको भन्ने कुराले धेरै अर्थ राख्छ।’
एबीयू रोबोकोनको यो वर्षको प्रतियोगिता भारतको नयाँ दिल्लीबाट अनलाइनमा आयोजना भएको थियो। तीन दिनपछिको प्रतियोगिताको प्रदर्शनमा काठमाडौंकी उपमेयर सुनिता डंगोल पनि पुगेकी थिइन्। नेपाली युवा मस्तिष्कको क्षमता राम्रो रहेको भन्दै उनले नेपाली विद्यार्थीले अझै राम्रो गर्न सक्ने बताइन्।
उनले भनिन्, ‘नेपालीको क्षमता कम छैन। नेपालीले विदेशमा गएर ठूला काम गरिसकेका छौं। हामीले यस्तो ठाउँ बनाउनुपर्छ, जहाँ युवा मस्तिस्कले साँच्चिकै आविष्कारको अभ्यास गर्न सकोस्। अनि प्रतियोगितामै सीमित नहोस्।’ रोबोट बनाउने प्रक्रिया प्रतियोगितामा सहभागिताका लागि मात्र नगर्न उनको आग्रह छ।
‘दुई दशकसम्म रोबोट निर्माणको बाटोमा हिँड्न सकिरहेको छ, यो क्याम्पस। यो ठूलो कुरा हो तर प्रतियोगितामा भाग लिने मात्र नभएर काममा प्रयोजन हुन सक्ने रोबोट बनाउन सक्नुपर्छ,’ उनले भनिन्। वैज्ञानिक कामका लागि काठमाडौं महानगरले सहयोग गर्ने वचनसमेत उनले दिइन्।
नेपालले पाएको ज्ञान के?
हामीले यो प्रतियोगिताबाट नेपाली विद्यार्थीले पाएको सबैभन्दा ठूलो ज्ञान अन्तिम समयसम्म पनि ‘गिभअप’ गर्नुहुँदैन भन्ने नै हो। त्यसबाहेक पनि धेरै कुरा सिक्न पाएका छन्।
सुनिल भन्छन्, ‘रोबोट एकदमै राम्रो भयो तर टिमवर्क भएन भने त्यसको प्रदर्शन राम्रो हुँदैन। एक डेढ वर्ष भइसक्यो, हामी सँगै बसेर काम गरेको। कसले कसरी काम गर्छ भन्ने पनि थाहा भइसकेको छ। कसले कुन काम गर्ने भनेर कार्य विभाजन गरेका थियौं। यसले हामीलाई सजिलो भएको थियो।’
उनले थपे, ‘रोबोटमा केही समस्या आयो भने कुन पार्टमा आएको हो, उसले समाधान गर्न सक्ने भयो। कामको दबाब पनि भएन। इलोक्ट्रोनिक्स पार्ट इलेक्ट्रोनिक्स पढ्ने साथीहरूले नै हेरेका थिए।’
कामप्रति जिम्मेवार अनि जिद्दी हुनुपर्छ, जति पटक लडे पनि काममा लागेका हात हटाउनुहुँदैन। अन्तिम समय सफल हुन सकिन्छ भन्छन्, पवन। उनका अनुसार प्रतियोगिताबाट सिकेको अर्को कुरा, टिमवर्क हो। टिममा विश्वास हुने हो भने जे पनि गर्न सकिन्छ।’
रोबोटको डिजाइन, संयन्त्र, कार्य, टिमवर्कलगायत सिकेका कुरा
इलेक्ट्रोनिक्स, इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङतर्फ तेस्रो वर्षमा अध्ययनरत रुजन आचार्यले भने, ‘हामीले नयाँ प्रविधिको प्रयोग गर्न सिक्यौं।’ यी रोबोटमा जुन प्रविधि प्रयोग भए, त्यसको सामान नेपालमा पाइँदैन। विदेशीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने उनीहरूले कस्तो प्रविधिको सामान प्रयोग गरिरहेका छन्, त्यसको ज्ञान हुनुपर्यो। उनीहरूले प्रयोग गरेको प्रविधिको ख्याल नगरी काम गर्न गाह्रो हुने बताउँछन्, आचार्य।
‘उनीहरूले प्रयोग गरिरहेको प्रविधिको अध्ययन गरेर त्यसलाई यहाँ उपलब्ध छ-छैन भनेर अध्ययन गर्नुर्यो सुरुमा,’उनले भने, ‘भर्खरै पाएको सामान छ भने त्यसलाई कसरी प्रयोग गर्ने भनेर थाहा हुँदैन। आफैंले सिक्ने हो। यस्तो प्रयोगले थाहा नभएका प्रविधि भित्रिँदै जान्छन्। पुल्चोक क्याम्पसमा प्रयोग भइसकेपछि देशभरि विस्तारै प्रयोग हुँदै जाने रहेछ भन्ने नै हो।’
त्यसैले उनी आउँदा दिनमा रोबोट बनाउने विद्यार्थीलाई ज्ञानको कमी भए पनि नआत्तिई काम गर्न सुझाउँछन्। ‘सुरुमा कसैसँग ज्ञान हुँदैन। सामान हेर्दै, यसले कसरी काम गर्ने रहेछ भनेर सिक्दै जाने हो,’ उनले भने, ‘सामान देखेपछि यो त मलाई आउँदैन भनेर छाडिदिन्छौं। त्यो हाम्रो दुर्भाग्य हो। त्यसले कामको दबाब हुँदैन र कम्फर्ट जोनमा रहिरहन्छन्। यसरी कुनै काम गर्न सकिँदैन।’
उनले थपे, ‘इच्छाशक्ति र आशा राख्नुपर्ने रहेछ, त्यसो भयो भने हिँड्न नसकिने अवस्थामा पनि दगुर्ने साहस आउँदो रहेछ।’
प्रविधिमा महिला अगाडि आउनुपर्छ
रोबोट बनाउने टिमकी गल्र्स सदस्य हुन्, अन्जु क्षेत्री। तेस्रो वर्षको मेकानिकल इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययनरत अन्जुको काम टू डी क्यामेराबाट कम्प्युटर भिजन प्रयोग गरेर बल खसाल्न दूरी र कोण नाप्ने थियो। टेक्निकल क्षेत्रमा न्यून रहेका महिलाको प्रतिनिधि पात्र हुन पाएकामा उनलाई खुसी लागेको छ। उनले भनिन्, ‘प्रतियोगितामा दुई केटी थियौं। यसरी अन्तर्राष्ट्रिय स्पर्धामा भाग लिन पाउँदा धेरै खुसी लागेको छ।’
तर उनलाई केटीहरू इन्जिनियरिङ क्षेत्रमा थोरै हुनुले दुःख लाग्ने गर्दछ। भन्छिन्, ‘हामी ४६ जनामा ६ जना केटी छौं–त्यही पनि कोटाले गर्दा। चाहेर वा नचाहेर पनि निर्णय लिने अवस्थामा महिला र पुरुषबीच ‘अचेतन भेद’ भइरहेको हुन्छ। एक-दुई जना माइनोरेटीमा छौं, मेजोरेटीमा हुन मन लागिहाल्छ।’
केटीहरू विज्ञानभन्दा आर्टस्तिर धेरै जाने गरेका छन्। साइन्सतिर लागे पनि मेडिकलतर्फ जान रुचाउँछन्। त्यसलाई उनी समाजको दबाबका रूपमा बुझ्छिन्। ‘केटा भनेको प्रविधिमा जाने हो भन्ने भावना रहन्छ। परिवारमा पनि अप्ठेरो हुने रहेछ, आफ्ना छोरीलाई त्यो कक्षामा पठाउन, जहाँ ९० प्रतिशत केटा छन्। त्यो पक्षलाई पाखा लगाएर इन्जिनियरिङमा आउन केटीहरूलाई आग्रह गर्छु,’ उनले भनिन्।
अहिले प्रविधि प्रयोग सबैभन्दा माथि छ अनि महिला, पुरुष दुवैको समान उपस्थिति हुने हो भने झनै प्रभावकारी बन्ला भन्ने लाग्छ, उनलाई। कुराकानीको अन्तिममा उनले भनिन्, ‘आफूलाई मात्र नभएर समाजलाई फाइदा हुने कुरामा केटीहरूको प्रतिशत घटिरहेको छ।’
खेलबारे
यो वर्षको रोबोकोन प्रतियोगिताका लागि अघिल्लो वर्ष नै विषयवस्तु प्राप्त भइसकेको थियो। रोबोट निर्माणमा सहयोग होस् भनेर एबीयू रोबोकोनले एक वर्षअघि नै प्रतियोगिताको विषयवस्तु दिने गर्दछ।
यसमा पनि एक पटकमा रातो र नीलो गरी दुई टिमले सहभागिता जनाउनेछन्। ती दुई टिमसँग इलिफेन्ट र र्याबिट गरी दुई प्रकारका रोबोट हुनेछन्। दुवै टिमका दुवै रोबोटबीच यो खेल तीन मिनेटको हुनेछ। त्यहाँ अंकुर रेड एरिया र अंकुर ब्लू एरिया हुनेछन्।
फिल्डको छेउछेउमा खेल सुरुआत प्वाइन्ट हुनेछ। अर्को छेउमा रिट्राई जोन र विकर्णमा दुई रिङ जोन पनि हुनेछ। बीच भागको छेउमा दुई रिङ जोन हुनेछन्।
इलिफेन्ट रोबोट र र्याबिट रोबोटले स्टार्ट जोनबाट खेल सुरु गर्नेछन्। उनीहरूलाई रिङ(विकर्णको इलिफेन्टलाई र भित्रको र्याबिटलाई) दिएको हुनेछ। खेल सुरु भएपछि इलिफेन्ट राबोटले रिङ क्षेत्रमा भएका रिङ उठाउनेछ। मैदानको बीचतिरको क्षेत्रमा रहेका पोलमा राख्नेछ।
यता, र्याबिट रोबोट अंकुर क्षेत्रमा गएर रिङ निकाल्नेछ र त्यसरी नै पोलमा रिङ राख्नेछ। त्यो समय रोबोट अंकुर सेन्टर एरियामा पनि जान पाउनेछ। ती दुई रोबोटले एकापसमा सहायता गरेर पनि पोलमा रिङ चढाउन सक्नेछन्।
मैदानमा तीन प्रकारका पोल हुनेछन्। पहिलो खाले पोलमा राखिएको रिङले १० अंक पाइनेछ भने दोस्रो र तेस्रो पोलले क्रमशः ३० र ७० अंक पाइनेछ।
त्यस्तै, विपक्षीको पोलाम रिङ चढाएको २५ अंक पाइनेछ। यदि एउटा टिमले निर्धारित सबै रिङ चढाए वा समय सकिए खेल सकिएको घोषणा गरिनेछ। यसबाट धेरै अंक ल्याउनेले जित निकाल्नेछ।