काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आगामी २१ भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ।अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले निर्वाचनका लागि उम्मेदवारको नाम पठाउन निर्देशन दिएको हो।
प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरे केन्द्रमा पठाउन जिल्ला समितिलाई निर्देशन दिइएको महामन्त्री राजाराम बर्तौलाले बताए। बैठकले निर्वाचनको पूर्वतयारीका विषयमा पनि निर्णय गरेको छ। महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमलाई समेत बैठकले पारित गरेको छ।
मेचीको काँकडभिट्टाबाट ३० भदौदेखि सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको बनवासामा पुगी काठमाडौं आएर समापन हुनेछ। यस्तै, विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरुसँग आवश्यक छलफल, परामर्श र वार्ता गर्ने जिम्मेवारी पार्टी उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिइएको छ।