काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनको बिहीबार बसेको बैठकले आ-आफ्नो दलमा छलफल गरेर तीन दिनभित्र सिट बाँडफाँटको टुंगो लगाउने सहमति भएको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा सम्मानजनक ढंगले अघि बढ्ने सहमति भएको सञ्चार तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
उनले भने, 'न्यायोचित र सम्मानजनक ढंगले सबैले जिते भन्ने स्प्रिटका साथ सिटको बाँडफाँट अन्तिम टुंगो लगाउने तयारी भइरहेको छ। अबको तेस्रो दिन आ-आफ्नो दलभित्र गृहकार्य गरेर अन्तिम निर्णय सुनाउँछौं। आजको निचोड यही हो।'
उनले अब ढिलो गर्ने समय नभएकोसमेत बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि बिहीआार कुनै निष्कर्षमा पुग्न नसकिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।
सो विषयमा बैठकमा निरन्तर छलफल भए पनि सङ्ख्यामै कुरा अड्किएको र छिट्टै निष्कर्षमा पुगिने उनले विश्वास व्यक्त गरे।
यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए ।
सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा पाँचै दलका शीर्ष नेताको उपस्थिति थियो।