काठमाडौं- नेपाली कांग्रेस बाँके-३ ले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारका लागि ११ जनाको नाम सिफारिस गरेको छ। सिफारिस हुनेमा उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य डा आरजु राणालगायत छन्। उक्त क्षेत्रबाट समानुपातिकतर्फ भने ९ जनाको नाम सिफारिस भएको छ।
क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ महासमिति एवम् संविधानसभा सदस्य बादशाह कुर्मी, संविधानसभा सदस्य आशा विक, महासमिति सदस्य मेघराज वली, महासमिति सदस्य लक्ष्मीनारायण शाह, क्षेत्रीय सभापति मो. नक्की खाँ, महाधिवेशन प्रतिनिधि देवबहादुर खत्री, पूर्व महाधिवेशन प्रतिनिधि उत्तमराज घिमिरे र प्रदेश अधिवेशन प्रतिनिधि तेजेन्द्र कँडेललाई सिफारिस गरेको क्षेत्रीय सचिव ज्ञानबहादुर वलीले जानकारी दिए।
उपसभापति खड्काको निर्वाचन क्षेत्र सुर्खेत–१ भने सहमहामन्त्री राठौरको निर्वाचन क्षेत्र बर्दिया-२ हो। आरजु अघिल्लो निर्वाचनमा कैलाली-५ बाट उमेदवार बनेर हारेकी थिइन्। राठौरले बर्दियाभन्दा बाँके-३ बाट नै चुनावी मैदानमा उत्रने आकांक्षा देखाएका छन्।
यस्तै समानुपातिकतर्फ पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, कृष्ण विक रसाइली, हरिभक्त उप्रेती, गगन बहादुर विक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुनसिंह पाण्डे, पुष्पा सुनार र चक्रबहादुर मल्ल सिफारिसमा परेका छन्।