काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संसदीय समितिमाथि नै प्रश्न उठाएका छन्। उनले महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा रहेको भन्दै निष्पक्षताको प्रश्न उठाएका हुन्।
‘आफैं महाभियोग प्रस्ताव गर्ने, छानबिन र निर्णय पनि आफैं गर्ने?’ बयानको दोस्रो दिन बिहीबार सिंहदरबारमा समितिले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले प्रश्न गरे, ‘महाभियोग प्रस्ताव गर्ने सांसद नै समितिमा हुनुहुन्छ। यो मिल्दैन, स्वार्थ बाझिन्छ।’
बुधबार जबराले आफूमाथि लगाइएको महाभियोग संविधानतः निष्क्रिय भइसकेको तर्क गर्दै सामान्य नागरिकका हिसाबले संसद्को सम्मान गर्न मात्रै आफू उपस्थित भएको बताएका थिए।
जबराको उक्त प्रश्नपछि सिफारिस समितिकी अध्यक्ष रेखा शर्माले समितिले आधार र प्रमाणका आधारमा निष्पक्ष छानबिन गर्ने जवाफ दिएकी थिइन्। बुधबारदेखि समितिले जबरासँग बयान लिन सुरु गरेकोमा पहिलो दिन ४ र दोस्रो दिन ६ गरी १० वटा प्रश्न सोधेको छ। समितिले जम्मा ४३ वटा प्रश्नावली तयार गरेकोमा आइतबार पुनः बोलाउने निर्णय भएको समितिले गरेको छ।