काठमाडौं– संसद्को महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग आइतबार फेरि बयान लिने भएको छ।
समितिले राणासँग हिजो बुधबारबाट बयान लिन सुरू गरेको थियो। हिजो बयान नसकिएकाले आज पनि उनलाई बैठकमा बोलाइएको थियो। समितिले राणालाई सोध्न ४३ वटा प्रश्नावली तयार गरेको थियो। त्यसमा सांसदहरुले पूरक प्रश्न पनि सोधेका थिए। आज केही प्रश्न सोधेर आइतबार पुनः बोलाउने निर्णय भएको समितिका एक सदस्यले जानकारी दिए।
आजको बैठकमा राणाले महाभियोग सिफारिस समितिले सोधेका प्रश्न नै औचित्यहीन भएको दाबी गरेका थिए। प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उनले यसको कुनै औचित्य नभएको दाबी गरेका हुन्।
उनले समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए। समिति सदस्य कल्याणी खड्काले निलम्बित प्रधानन्यायाधीश जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै विरोध गरिन्। जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको समेत दाबी गरेका थिए।