काठमाडौं– विदेशमा अमेरिकी डलर भुक्तानी सहज बनाउन हालसम्म ३८ हजार ६६ जनाले प्रिपेड डलर कार्ड लिएको राष्ट्र बैंकले बताएको छ। यस्तो कार्डमार्फत वार्षिक ५०० डलरसम्म भुक्तानी गर्न सकिन्छ।
राष्ट्र बैंकले ८ चैत २०७७ मा निर्देशन जारी गर्दै ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थालाई उक्त कार्ड जारी गर्न अनुमति दिएको थियो। असार मसान्तसम्म ९३ लाख ८५ हजार अमेरिकी डलर लोड गरिएको र यसमध्ये ६१ लाख डलर भुक्तानीसमेत भइसकेको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले बताए।
राष्ट्र बैंकले गत मंगलबार निर्देशन जारी गर्दै वाणिज्य तथा विकास बैंकले प्रिपेड डलर कार्डमार्फत डेढ दर्जन शीर्षकमा वस्तु तथा सेवाको भुक्तानी नगर्न निर्देशन दिएको छ। नयाँ निर्देशन पालना नभए विदेशी मुद्रा अपचलनसम्बन्धी कारबाही हुने पौडेलको भनाइ छ।
अनलाइनमार्फत भुक्तानी गरी विदेशबाट वस्तु तथा सेवा खरिद गर्दा गर्नुपर्ने भुक्तानीका लागि डलर कार्ड व्यवस्था गरिएको हो। राष्ट्र बैंकको निर्देशनमा राजनीतिक संस्था, धार्मिक संस्था, सट्टेबाजी, चिट्ठा, पीओई फन्डिङ, जुवा, रियलस्टेट एजेन्टलाई भाडालगायत १८ शीर्षकअन्तर्गतका वस्तु तथा सेवा उपभोग गरेर डलर कार्डमार्फत भुक्तानी गर्न नपाइने व्यवस्था छ।