काठमाडौं- परिवर्तित पाठ्यक्रमअनुसार कक्षा ११ को पठनपाठन एकलपथीय प्रणालीबाट सुरु भएको छ। विगतमा संकायगत शैक्षिक प्रणालीमा पढाइ हुन्थ्यो।
नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणित पढ्नुपर्छ। सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये भने एउटा विषय पढ्नुपर्छ। अनिवार्यअन्तर्गत तीन विषय पढ्नुपर्छ तर अनिवार्य गणित पढ्ने विद्यार्थीले ऐच्छिक गणित पढ्न नपाउने व्यवस्था पाठ्यक्रममा छ।
ऐच्छिकअन्तर्गत पहिलो, दोस्रो, तेस्रो र चौथो समूहका विषय रोज्न पाइनेछ। तीन अनिवार्य र ऐच्छिकका चारवटा समूहबाट तीन विषयसमेत गरी कक्षा ११ मा ६ विषय पढाइ हुन्छ। विभिन्न ६८ वटा विषयमध्येबाट ६ विषय रोज्न पाइन्छ।
यसरी रोज्नुपर्छ पढ्ने विषय
भविष्यमा डाक्टर, इन्जिनियर, पाइलट, सूचना प्रविधि, जीवविज्ञान, रसायनशास्त्र, वनस्पतिशास्त्रसँगै विज्ञानसँग सम्बन्धित विषयमा उच्च शिक्षा लिन चाहनेले कक्षा एघारमा अनिवार्य नेपाली, अंग्रेजी र गणित लिनुपर्छ भने ऐच्छिकअन्तर्गत पहिलो समूहमा भौतिकशास्त्र, दोस्रो समूहमा जीवविज्ञान वा कम्प्युटर विज्ञान, तेस्रो समूहमा रसायनशास्त्र विषय रोज्न पाउँछन्।
व्यवस्थापन संकायतर्फ भविष्य बनाउन चाहनेले तीनवटा अनिवार्य विषयसहित पहिलो समूहमा लेखा विधि, दोस्रो समूहबाट कम्प्युटर विज्ञान वा व्यवसाय अध्ययन र तेस्रो समूहबाट अर्थशास्त्र लगायतका विषय रोज्न सक्छन्।
विद्यार्थीले दर्शनशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, कला, साहित्य, गृहविज्ञान, समाजशास्त्र, वातावरण, भूगोल, धर्म, संस्कृति, आमसञ्चार तथा पत्रकारिता, विभिन्न भाषागत विषय रोज्न सक्छन्।
शिक्षण पेसामा जान चाहनेले अनिवार्य अंग्रेजी, नेपाली र सामाजिक अध्ययनसँगै मूल्यांकन, शिक्षा र विकास, बाल विकासजस्ता विषय अध्ययन गर्नुपर्ने हुन्छ।
एसईईपछि विद्यार्थीले कक्षा एघारमा भर्ना नभएर विकल्पका रुपमा ‘ए लेभल’ पनि पढ्न सक्छन्। बेलायतस्थित विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेसन (जीसीई) कार्यक्रमअन्तर्गत सञ्चालन हुने शैक्षिक कार्यक्रममा विद्यार्थीले साइन्स र ननसाइन्स गरी दुईवटा संकायमा अध्ययन गर्न गर्न पाउँछन्। यसमा पनि विद्यार्थीले चाहेको विषय रोज्न पाउँछन्। विश्वभर एकै किसिमको पढाइ र परीक्षा हुने एलेभल विश्वका थुप्रै देशमा सञ्चालनमा छन्।
कक्षा १० अध्ययनपछि प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले व्यावसायिक र प्राविधिक दुवै विषय अध्यापन गराउँदै आएको छ। एसईई उत्तीर्ण गरेका विद्यार्थीले तीनवर्षे डिप्लोमा तहमा नर्सिङ, एचए, फार्मेसी, ल्याबटेक्निसियन पढ्न सक्छन्।
त्यस्तै इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रोनिक्स, मेकानिकल, आईटी, कम्प्युटर, अटो मेकानिकल, कृषितर्फ प्लान्ट, एनिमल साइन्स र आयुर्वेद चिकित्सा लगायतका विषय अध्ययन गर्न सक्छन्।