बुटवल- रुपन्देहीको बुटवलमा बुधबार दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु र छोराको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गको बुटवल १३ बेल्बासमा भएको दुर्घटनामा परि मृत्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका-१३ बेलबास बस्न ४५ वर्षीय सोनु भट्टराई र उनका ६ वर्षका छोरा निशान रहेका प्रहरीले जनाएको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बेलबास चोकमा पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र पश्चिमबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्यांकरमुनि पर्न जाँदा भयानक दुर्घटना भई मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।
दुर्घटनाबाट गम्भीर घाइते दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। दुर्घटनामा १५ वर्षका आयुष आचार्य र लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षका अमृत सुनारी मगर घाइते भई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।