बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सिट बाँडफाँटबारे कांग्रेसमा थरिथरि मत, बोल्दा विचार पुर्‍याउन देउवाको निर्देशन

सिट बाँडफाँटबारे कांग्रेसमा थरिथरि मत, बोल्दा विचार पुर्‍याउन देउवाको निर्देशन

पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सय सिटको अडान छोड्न नहुने निष्कर्ष निकालिएको हो।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं– सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्दा सय सिट नछोड्ने निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ। पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सय सिटको अडान छोड्न नहुने निष्कर्ष निकालिएको हो। 

National life

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १६५ क्षेत्र छन्। कांग्रेसले गठबन्धनमा रहेका पाँच दलले तालमेल गरेर चुनावमा जाने निर्णय गरे पनि कुन दलले कति सिट पाउने भन्ने टुंगो लागेको छैन। पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा स्थानीय निर्वाचनमा जस्तो गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा भने कुनै विवाद देखिएन। यसअघि केन्द्रीय कार्य समितिले नै त्यसबारे निर्णय गरिसकेकाले नेताहरूले गठबन्धन गर्नुको विकल्प नभएकोमै जोड दिएका थिए।

तर गठबन्धन गर्दा पार्टीले सय सिटको अडानबाट पछि हट्न नहुने बताएका थिए। बैठकमा नेता शेखर कोइरालाले कांग्रेसले जित्न सक्ने कुनै पनि सिट अर्को दललाई छोडेर गठबन्धन गर्नु नहुने बताएका थिए। कोइरालाको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘गठबन्धन गरेर जाने निर्णय नै भइसक्यो। तर कांग्रेसले जित्ने सिट अर्को दललाई दियो भने कांग्रेसलाई मात्रै होइन, गठबन्धनलाई नै फाइदा हुँदैन।’ जति धेरै सिट कांग्रेसले लिन्छ, त्यति धेरै सिटमा गठबन्धनका उम्मेदवार विजयी हुने कोइरालाको भनाइ थियो। 

२०७४ को मतलाई मान्न सकिँदैनः पौडेल 
वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस ०७४ मा एक्लै चुनावी मैदानमा होमिएको बताउँदै सिट बाँडफाँडमा त्यो मतलाई आधार मान्न नसकिने बताए। उनले अहिले गठबन्धनमा भएको अन्य दलले भने एमालेसँग चुनावी तालमेल गरेको भन्दै त्यो बेलाको मत तत्कालीन गठबन्धन टुटेसँगै विभाजित भइसकेको तर्क  गरे। उनले बैठकमा भनेका थिए, ‘एमालेसँग गठबन्धन गरेर २०७४ सालमा ल्याएको मतलाई आधार मान्न सकिँदैन। गठबन्धन मात्रै गर्ने होइन, कहाँ कुन दलले उम्मेदवारी दिँदा परिणाम गठबन्धनको पक्षमा आउँछ भन्ने कुरालाई आधार बनाउनुपर्छ।’ 

लोसपालाई गठबन्धनमा ल्याउन प्रस्ताव 
बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधिले चुनावी गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत सामेल गर्नुपर्ने सुझाव राखेका थिए। निधिले लोसपालाई गठबन्धनमा ल्याउन आफू बाधक नहुने स्पष्ट पारेका थिए। निधिले लोसपामा धेरै लोकतन्त्रवादीहरु नेताहरु रहेकाले संविधान र लोकतन्त्र जोगाउनका लागि लोसपालाई गठबन्धनमा समावेश गर्नुपर्ने बताएका थिए। लोसपालाई गठबन्धनमा ल्याउँदा धनुषा क्षेत्र नम्बर ३ मा निधि र लोसपा नेता राजेन्द्र महतोमध्ये को उमेदवार बन्ने भन्ने समस्या हुन्छ। लोसपालाई गठबन्धनमा समेट्नुपर्ने विषय शेखर कोइरालाले पनि उठाएका थिए। 

Shivam cement

पहिला हारेका क्षेत्रमा पनि कांग्रेसको जनलहर 
पूर्व उपसभापति विजयकुमार गच्छदारले भने विगतमा कांग्रेसले पराजय व्यहोरेका क्षेत्रमा समेत यसपटक भने कांग्रेसको पक्षमा जनलहर रहेको स्मरण गराए। उनले भने, ‘अघिल्लोपटक बाम गठबन्धन थियो, त्यहीकारण पनि हाम्रा धेरै जना साथीहरूले पराजय बेहोर्नुपरेको हो। त्यसैले विगतमा पराजित भएको भनेर अहिलेको अवस्था नबुझेर अप्रिय निर्णय नलिऔँ। पहिले हारेको ठाउँमा पनि यसपटक कांग्रेसको पक्षमा जनलहर बनेको छ।’ उनले कांग्रेसले जति धेरै सिट लियो, त्यति धेरै सिटमा गठबन्धनको जित सुनिश्चित हुने बताएका थिए।

२०७४ को समानृुपातिक मतलाई आधार 
पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले ०७४ को समानुपातिक निर्वाचन प्रणालीको परिणामलाई आधार मानेर सिट बाँडफाँट गर्नु उपयुक्त हुने सुझाव दिएका थिए। उनले बैठकमा २०७४ सालमा माओवादी र माधव नेपालहरूले एमालेको मतमा चुनाव जितेको बताउँदै अहिले पनि त्यही जनमत छ भन्दै त्यही आधारमा जोडघटाउ गर्नु मुर्खता हुने बताएका थिए। उनले गठबन्धनको मर्म र भावनाबारे जनताले बुझ्ने गरी उम्मेदवारी चयन हुनुपर्ने बताए। नेता केसीले कुनै पनि निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारको रिक्तता हुन नहुने सुझाव दिएको बताए। उनले बैठकमा भनेका थिए, ‘हरेक क्षेत्रमा प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई वटा सिट हुन्छ। हामीले पाँच दलबीच गठबन्धन गर्दैछौँ, सिट बाँडफाँट गर्दा हरेक प्रतिनिधिसभा क्षेत्रका तीन सिटमध्ये कम्तिमा एक जना कांग्रेसको उम्मेदवार हुनैपर्छ।’ 

देउवाको निर्देशन 
सभापति शेरबहादुर देउवाले भने सत्ता गठबन्धनलाई असर पर्ने गरी सार्वजनिक मन्तव्य नदिन पार्टीका नेताहरूलाई निर्देशन दिएका थिए। उनले गठबन्धनका विरुद्ध एक शब्द पनि नबोल्न निर्देशन दिएको एक नेताले बताए। यस्तै, देउवाले आशन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदललाई गठबन्धन नटुट्ने गरी गृहकार्य गर्न कार्यदलमा रहेका नेताहरुलाई निर्देशन पनि दिएका थिए। देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘गठबन्धनको खिलाफमा कसैले नबोल्नू। गठबन्धन व्यक्तिगत निर्णय होइन। यो केन्द्रीय समिति बैठकको निर्णय हो। त्यसकारण सबैको एक स्वर हुुनुपर्छ। कार्यदलमा हुनेहरूले गठबन्धन नटुट्ने गरी वर्कआउट गर्नू। सबैलाई सम्मान हुने गरी सिट मिलाउनू।’ 

प्रकाशित: Aug 31, 2022| 18:01 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...