काठमाडौं– संसद्ले गठन गरेको महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बयान लिइरहेको छ। राणालाई सोध्न समितिले ४३ वटा प्रश्नावली बनाएको छ।
राणाले पनि समितिलाई आफूमाथि किन महाभियोग लगाइएको हो भनेर प्रश्न गरेका छन्। सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा आज बिहान ११ बजेदेखि समितिले राणासँग बयान लिइरहेको छ। बैठकमा सहभागी हुन राणा ११ नबज्दै सिंहदरबार पुगेका थिए। राणासँगको बयान बन्द कोठामा लिने कि खुला गर्ने भन्ने विषयमा मतभेद भएपछि बैठक एक घण्टा ढिलो सुरु भएको थियो।
महाभियोगबारे राणाको कुरा सुन्न र प्रश्न सोध्न बैठकमा बोलाइएको समितिका एक सदस्यले बताए। राणाले पनि महाभियोग किन लगाइयो भनेर प्रश्न गरेको ती सदस्यले बताए।
राणाले महाभियोग निस्कृय भइसकेको र संसद्को सम्मानका लागिमात्रै आफू आएको जवाफ दिएका थिए। राणाले भनेका कुरामाथि कतिपय सांसदले प्रतिप्रश्न पनि गरेका छन्।