काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको निर्वाचन क्षेत्र कैलाली–५ मा कारवाही भोगिरहेका पूर्वमन्त्री पुष्करनाथ ओझाको सहयोगबिना जित निकाल्न नसकिने निष्कर्षसहित केन्द्रीय सदस्यसहित कैलालीका नेताहरु उनलाई फकाउन थालेका छन्।
ओझालाई फकाउनका लागि आज बुधबार केन्द्रीय सदस्य तथा धनगढीका निवर्तमान मेयर नृप वड, जिल्ला सभापति नारायणदत्त भट्ट, सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, निवर्तमान सल्लाहकार नारायण सत्याल, कैलाली सचिव नृप सुनार, गोदावरी नगरपलिकाका मेयर वीरेन्द्र भट्ट उनको घरमै पुगेका थिए।
कैलाली क्षेत्र नम्बर ५ मा २०७४ सालको चुनावमा प्रधानमन्त्री देउवा पत्नी आरजुलाई असहयोग गरेको भन्दै पार्टीले कारबाही गरेको थियो। अहिले पनि उनको कारबाही फुकुवा भएको छैन। आगामी मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति तोकिएसँगै ओझाको सहयोगबिना जित निकाल्न समस्या हुने भएकाले कांग्रेसको केन्द्रीय नेतृत्वलाई पुष्कर ओझालाई मिलाउन दबाब परेको छ।
केन्द्रको दबाबमा कांग्रेस केन्द्रीय सदस्य, कैलाली जिल्ला सभापतिलगायतका नेताहरुले ओझालाई भेटेर आगामी चुनावमा कसरी जाने भन्ने छलफल गरेका थिए। नेताहरुसँगको छलफलमा ओझाले कैलाली क्षेत्र नम्बर ५ बाट आफू चुनावी प्रतिष्पर्धामा उत्रने स्पष्ट पारे। यो क्षेत्रबाट प्रधानमन्त्री पत्नी आरजु पनि चुनावी मैदानमा जाने तयारीमा छन्। अघिल्लो पटक राणा एमाले उम्मेदवार नारदमुनि रानासँग ५ हजारभन्दा बढी मतले पराजित भएकी थिइन्।
कैलालीस्थित निवासमा भेट्न पुगेका कांग्रेस केन्द्रीय सदस्य वडसहितका नेताहरुलाई ओझाले आफू कैलाली ५ बाट चुनावी मैदानमा जाने तयारीमा रहेको जानकारी गराएको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले नेपाल समयलाई बताए। उनले ओझाको भनाइ उद्धृत गर्दै भने, ‘कांग्रेस मेरो घर हो। मेरो घरबाटै टिकट लिएर चुनावी मैदानमा जाने इच्छा छ।’
ओझालाई केन्द्रीय सदस्य वड सहितका नेताहरुले आगामी चुनावका बारेमा के गर्ने भनेर छलफल गर्ने भन्दै भेट्न पुगेका थिए। उनीहरुले ओझालाई पार्टी सभापति शेरबहादुर देउवासँग भेट गर्न आग्रह गरेका थिए। जवाफमा नेता ओझाले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएमा यस विषयमा छलफल गर्न सकिने सुनाएका थिए। स्थानीय तह निर्वाचनका बेला धनगढी पुग्दा देउवाले ओझालाई भेट्न बोलाएका थिए। तर, उनी गएनन्। त्यसपछि ओझा र देउवाको भेट भएको छैन।
ओझाले भने कैलाली कांग्रेसका नेताहरु आफूहरुसँग शिष्टाचार भेट गर्न आएको बताए। उनले भने, ‘कैलाली कांग्रेसका नेताहरु मसँग भेट गर्न डराउनुहुन्छ। तर आज शिष्टाचार भेट गर्न आउनुभएको हो। केही राजनीतिक कुरा भए तर समाचार बन्ने कुरा भएका छैनन्।’
२०७० सालमा कैलाली–६ र डडेल्धुराबाट देउवा निर्वाचित भएका थिए। कैलाली–६ मा भएको उपनिर्वाचनमा देउवाको विरासत जोगाउँदै ओझा निर्वाचित भएका थिए। अघिल्लो पटक प्रतिनिधिसभामा पुनः दाबी गरेका ओझालाई पन्छाउँदै पार्टीले प्रधानमन्त्री पत्नी आरजु राणालाई टिकट दिएको थियो। जसबाट उनी पार्टीसँग रुष्ट थिए।