काठमाडौं– महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिन सुरु गरेको छ। समितिले जबरालाई आज सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिन सुरु गरेको हो।
समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको थियो। त्यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाभियोग सिफारिस समितिमा बहस चलेको थियो। जसकारण बयान लिन ढिलाइ भएको थियो।
समितिका सदस्य नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले बयानलाई खुला राख्नुपर्ने धारणा राखेका थिए। यद्यपि नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा, नेकपा माओवादीका रेखा शर्मा र नेकपा एकीकृत समाजवादीका कल्याणी खड्काले भने बन्द बयान लिनुपर्ने अडान लिएका थिए। त्यसपछि बयानमा अन्य कसैलाई उपस्थित हुन दिइएन।
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ। जबरालाई सोध्नका लागि प्रश्नावली तयार गरिएको समितिले जनाएको छ। गत बुधबार समितिले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो। आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा तोकिएको समयमै सिंहदरबार पुगेका थिए। गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बित भएका हुन्।