बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विद्युतीय चुल्होको प्रयोगमा कठिनाइ, वितरित चुल्हो प्रयोगविहीन

विद्युतीय चुल्होको प्रयोगमा कठिनाइ, वितरित चुल्हो प्रयोगविहीन

रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ ले इन्फ्रारेड कुकर (विद्युतीय स्टोभ) चुल्हो वितरण गरेको छ। वडावासीलाई वितरण गरिएको सो कुकर चुल्हो कम एम्पिएरको लाइन, लो भोल्टेज र पटक–पटक बिजुली गइरहने समस्याले प्रयोगमा कठिनाइ देखिएको छ।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

लुम्बिनी- रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ ले इन्फ्रारेड कुकर (विद्युतीय स्टोभ) चुल्हो वितरण गरेको छ। वडावासीलाई वितरण गरिएको सो कुकर चुल्हो कम एम्पिएरको लाइन, लो भोल्टेज र पटक–पटक बिजुली गइरहने समस्याले प्रयोगमा कठिनाइ देखिएको छ।

National life

विद्युत्को समस्या खेपिरहेको कोटहीमाईमा दुइ हजार दुई सय वाट क्षमताको उच्च पावरयुक्त चुल्हो वितरणपछि निकै आलोचना हुन थालेको छ। स्थानीयवासी तारा पासीले चुल्हो देखाउँदै बिजुलीको ‘लो भोल्टेज’ समस्याका कारण जाँच्न नपाएको बताइन्। 

बोरामा प्याक गरी थन्क्याएर रखिएको सो विद्युतीय चुल्हो देखाउँदै पासीले भनिन्, 'एक त घरमा बिजुलीको समस्या छ, अर्काको घरमा सवमिटर हालेर बिजुली ल्याएकी छु। त्यसमाथि यति उच्च पावरको चुल्हो र सोका लागि छुट्टै बर्तन किन्नुपर्ने हुँदा हाम्रा लागि उपयोगी छैन।'

फुसको छानो भएको एक कोठेघरमा परिवारसँग बस्दै आएकी ताराले छिमेकी कहाँबाट सबमिटर जडान गरी घरमा दुई बल्ब, एक पङ्खा र मोबाइल चार्ज गर्नेसम्मको व्यवस्थापन गरेकी हुन्। 'पंखासम्म चल्न नसक्ने स्थितिमा इन्फ्रारेड कुकरको त कामै छैन,' उनले भनिन्। छिमेकी अदालत यादवको भनाइ पनि ताराको जस्तै छ। 

उनले चुल्हो पाएदेखि घरमा रहेको भकारीमाथि थन्क्याएकी छन्। विद्युत्को समस्या सुनाउँदै उनले भनिन्,‘गर्मीले बेहाल छौँ, एक सय २० वाटको पङ्खा त राम्रोसँग चल्दैन यो उच्च पावरको चुल्हो जलाउन त सम्भव नै छैन।'

Shivam cement

कुनै दिन काम देला भनेर वडा कार्यालयले निःशुल्क बाँडेपछि चुल्हो ल्याएको उनले बताइन्। थपिन्, 'बिजुली र पङ्खा वापतको रु दुई सय तिर्न नसक्नेलाई यसको व्यवस्थापन गर्न गाह्रो छ। चुल्होको सट्टा कुनै काम लाग्ने कृषि सामग्री दिएको भए हुन्थ्यो।'

पासी टोलकी ज्ञानमति पासीको श्रीमान्ले चुल्हो ल्याएर जाँचिन्। घरमा रहेको गोलाकार पिँध भएको भाँडो राख्न खोजेपछि चुल्होमा बसेन। छुट्टै भाँडो खरिद गर्नुपर्ने पैसाको व्यवस्थापन गर्न उनको सामर्थ्य छैन। 

खाना पकाउने समयमा १० मिनेट मात्र बत्ती गयो भने पनि खाना बिग्रिने भएकाले यसमाथि भरोसा गर्न सकिने स्थिति नरहेको विद्युतीय चुल्होका जानकार जनार्दन बनियाले बताइन्। 'कोटहीमाई–७ मात्रै होइन, मर्चवारका अधिकांश जसो विद्युत् ग्राहकको घरमा रहेको विद्युतीय पूर्वाधार पनि इन्फ्रार्रेड कुकर चुल्होका लागि चाहिने बिजुलीको खपत धान्न सक्ने खालको छैन।' 

यस वर्षको बजेट वक्तव्यमा सरकारले स्थानीय तहमार्फत एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा वितरण गर्ने घोषणा गरेको कार्यक्रममाथि सुरुबाटै प्रश्न उठिरहेको स्थितिमा कोटहीमाई–७ ले वडावासीलाई वितरण गरेको सो चुल्हो पनि उपयोगी हुने देखिएको छैन।

प्रकाशित: Aug 30, 2022| 23:20 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्