भैरहवा- कृषिप्रधान मुलुक नेपालमा सञ्चालनमा रहेका कृषि उद्योगका लागि आवश्यक कर्चा पदार्थ पनि विदेशबाट आयात हुने गरेको छ।
देशभरका एक सय चार वटा दाना उद्योगले बर्सेनि आठ अर्ब रुपैयाँभन्दा बढीको मकै आयात गर्दै आएका छन्। भारत विहारको गुलाबघाट र उत्तरप्रदेशको बहराइचबाट धेरै मकै आउने गरेको देखिन्छ। त्यसबाहेक ब्राजिल, अर्जेन्टिना र चीनबाट समेत मकै आयात हुँदै आएको छ।
नेपाली दाना उद्योगलाई आवश्यक मकैमध्ये ७० प्रतिशत अन्य मुलुकबाट आयात गर्नुपरिरहेको नेपाल दाना उद्योग संघका पूर्वअध्यक्ष डा. तिलचन्द्र भट्टराई बताउँछन्। 'स्वदेशी उत्पादन ३० प्रतिशत खपत हुन्छ, नपुगेर विदेशबाट खरिद गर्छौं,' उनी भन्छन्।
नेपालमा मकैको उत्पादन वृद्धिदर वार्षिक अढाइ प्रतिशत भइरहँदा पोल्ट्री खपत १३ प्रतिशतले बढिरहेको उनी बताउँछन्। भन्छन्, 'नेपालमा प्रतिदिन तीन हजार मेट्रिक टन दाना उत्पादन हुन्छ, जसमा ५० प्रतिशत मकै प्रयोग हुन्छ।'
१५ वर्षदेखि सरकारलाई बारम्बार मकै र भटमासको व्यावसायिक खेतीका लागि आवश्यक योजना ल्याउन आग्रह गर्दै आए पनि खासै प्रगति नभएको उनको भनाइ छ। भट्टराई भन्छन्, 'मकै र भटमास जति उत्पादन भए पनि हामी खरिद गर्छौं, सहकार्य गरेर काम गरौं भन्दा पनि सुनुवाइ भएन।'
गत वर्षसम्म दाना उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयात गर्दा एक दशमलव ६ प्रतिशत रहेकामा चालु वर्षदेखि लागू हुने गरी सरकारले पाँच प्रतिशत पु¥याएकामा उद्योगीहरूले चिन्ता जनाउँदै आएका छन्। दाना उद्योग संघका केन्द्रीय सदस्य गोपाल टण्डन भन्छन्, 'अहिले राज्यकै कारण स्वदेशी उद्योग मारमा पर्ने देखिएको छ। कच्चा पदार्थ नहुँदा विदेशबाट खरिद गर्नुपरेको छ। भन्सारमा कच्चा पदार्थ र तयारी दानाको राजश्व पनि एउटै छ।'
देशभरका एक सय चार वटा दाना उद्योगले बर्सेनि आठ अर्ब रुपैयाँभन्दा बढीको मकै आयात गर्दै आएका छन्।
टण्डनका अनुसार १ साउनदेखि दाना उद्योगका लागि आवश्यक कच्चा पदार्थ र भारतबाट नेपाल आयात हुने तयारी दाना दुवैमा बराबरी भन्सार राजश्व तोकिएको छ। दुवैको पाँच प्रतिशत भन्सार लाग्छ। यसरी ठूलो परिणाममा भित्रिने दानासँग सोही मुलुकबाट कच्चा पदार्थ आयात गरी तयार गरिने दानाको बजार प्रतिस्पर्धा कठिन हुनु स्वाभाविकै हो।
आर्थिक वर्ष ०७३/७४ को तथ्यांकअनुसार दानाका लागि आवश्यक पहेंलो मकै तीन लाख ९१ हजार पाँच सय ३८ मेट्रिक टन खपत भएको देखिन्छ। यो दर पछिल्लो समय १३ प्रतिशतले बढेको छ। मकै प्रतिकिलो २५ रुपैयाँसम्म पर्छ।
यस्तै, भटमासको पीना, बदामको पीना, बोन मिल, भिटामिन, गहुँ, सोयाबिनसमेत अन्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको उद्योगीहरूको भनाइ छ। दाना बनाउँदा प्रयोग हुने भटमास अमेरिकाबाट, बोन मिल युरोपबाट, बदामको पीना भारतबाट आयात हुने गर्छ भने ढुटो मात्रै नेपालको प्रयोग हुने गरेको छ।
रूपन्देहीमा बुस्टर, दाउन्ने फिड्स, अन्नपूर्ण एग्रो, लुम्बिनी फिड्स, श्रीनगर एग्रो र बुद्ध दाना गरी ६ वटा उद्योग सञ्चालनमा छन्। एउटा दाना उद्योगका लागि १० करोडदेखि ८० करोड रुपैयाँसम्म लागत पर्छ।
मकै नेपालको प्रमुख अन्नबाली हो। यो हिमाल, पहाड, तराई सबै भेगमा उत्पादन हुन सक्छ। मकैबाट दानाबाहेक आँटा, ढिँडो, रोटी, च्याँख्लालगायत परिकार तयार हुन्छ। स्वादिष्ट सुप बनाउनका लागि हरियो दूधे मकैको पीठो पनि प्रयोग हुन्छ। खाडी मुलुकहरूमा पसिना बगाइरहेको युवा जनशक्तिलाई आकर्षित् गरी योजनाबद्ध काम गरिएमा पहाडका पाखा पखेरादेखि तराईका फाँटहरूमा पनि व्यावसायिक मकै खेती गर्न सकिने प्रचुर सम्भावना छ। त्यसको बजार स्वदेशमै तयार भइसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४