काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन तयार भएको भए एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन आफूहरू तयार भएको खुलासा गरेका छन्। तर केपी ओली त्यसको लागि तयार नभएको र अब त्यो 'च्याप्टर क्लोज' भएकोसमेत उनले उल्लेख गरेका छन्।
धरानमा आयोजित प्रदेश नम्बर १ मा कार्यरत पार्टी केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुसँगको संयुक्त बैठकमा बोल्दै प्रचण्डले भने, 'वर्तमान राजनीतिका विषयमा एमालेले विगत घटनामा आत्माआलोचना गरेको भए, एमसीसीमा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन तयार भएको भए हामीले ओलीलाई प्रधानमन्त्री बनाउन तयार भएको हो। केपी त्यसको लागि तयार भएनन्। त्यो च्याप्टर क्लोज भएको छ।'
संघ र प्रदेशको निर्वाचनमा पार्टी र गठबन्धनको आधिकारिक उम्मेदवारलाई जिताइछाड्ने संकल्प लिन जरुरी रहेको उनले उल्लेख गरे। उनले स्थानीय तहको निर्वाचनमा गल्ती गर्नेलाई छानबिन समितिले दिएको सुझावअनुसार काराबाही गर्नेसमेत उल्लेख गरे। 'स्थानीय तहको टिकट वितरणमा कतिपय स्थानमा मनोमानी भएको छ त्यसलाई गम्भीर रुपमा लिनुपर्दछ,' उनको भनाइ छ।
उनले सत्ता गठबन्धनकै साथमा चुनावमा होमिने कुरा भइसकेको र अहिले सिट बाँडफाँटको काम भइरहेको जानकारी दिए। 'जसले जहाँ जितेको हो त्यो ठाउँ उसकै पहिलो हक लाग्ने भनिएको छ। निर्वाचन क्षेत्रमा अहिले, कहाँ, कस्को,कस्तो अवस्था छ बुझ्ने काम भैरहेको छ। केही दिनमा यो काम सकिन्छ,' प्रचण्डले भने।
कार्यक्रमअघि धरानका मेयर हर्क साम्पाङको निम्तोमा धरानमा वृक्षरोपणमा सहभागी भएका थिए।