काठमाडौं- निर्वाचन आयोगबाट आधिकारिकता विवाद समाधान भएपछि सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)काे केन्द्रीय समिति बैठक बस्ने भएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले भदौ १ र २ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका हुन्।
जसपा नेता डम्बर खतिवडाले पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए।
काठमाडाैंमा बस्ने बैठकमा पार्टीको संगठन विस्तार, कार्यविभाजनलगायत विषयमा छलफल हुनेछ। तत्कालीन समयका राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी एकीकरण भएर बनेको जसपाको केन्द्रीय समिति बैठक बस्न सकेको थिएन।
तत्कालीन केपी शर्मा ओली सरकारमा सहभागी हुने विषयमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद भएको थियो। उपेन्द्र यादव पक्षलाई बेवास्ता गर्दै ओली सरकारमा सहभागी ठाकुर पक्षलाई निर्वाचन आयोगले आधिकारिकता नदिएपछि दलविहीन अवस्थामा पुगेको छ भने आधिकारिकता पाएको जसपाले केन्द्रीय समिति बैठक बोलाएको हो। ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरू बाहिरिएपछि जसपाले पहिलो पटक केन्द्रीय समिति बैठक बोलाएको हो।
जसपाको केन्द्रीय समितिमा ८०१ सदस्य छन्।