काठमाडौं- सत्ता गठबन्धनमा रहेका पाँच दलले आगामी संघ र प्रदेश निर्वाचनका लागि कार्यदल नै बनाएर सिट बाँडफाँटको काम गरिरहेको छ। कार्यदलले भदौ पहिलो साता नै सिट बाँडफाँट टुंग्याउने बताए पनि हालसम्म बाँडफाँटमा दलहरुले आ-आफ्नो दाबी नछोडेका कारण सकस भइरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसबाहेकका दलहरुले १३४ सिटमा दाबी पेश गरेका हुन्। बैठकमा कांग्रेस बाहेकका चार दलले १३४ सीटमा दाबी गरेको कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए।
उनका अनुसार नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी (जसपा)ले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सीटमा दाबी गरेको हो। त्यस्तै, नेपाली कांग्रेसले एक सय सीटमा दाबी गरेको छ।
बिहीबारको बैठकमा सबै दलले आ-आफ्नो दाबी पेश गर्दै त्यसमा छलफल सुरु भएको हो। कार्यदल संयोजक कृष्णप्रसाद सिटौला कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना भएकोले कार्यदलले काम गर्न सकिरहेको छैन।
कार्यदलले यसअघि सिट बाँडफाँटको मापदण्डबारे नेतृत्वलाई जानकारी गराएको थियो।