काठमाडौं– नेकपा एमालेको पोलिटब्युरो बैठकले भोलि शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेन्डा तय गरेको छ। चुनावी रणनीति तय गर्न बस्न लागेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।
एमाले प्रचार विभाव प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार अध्यक्षको राजनीतिक प्रतिवेदनमा अहिलेको राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति र सत्ता गठबन्धनका कामकारबाहीको तस्बिर प्रस्तुत हुनेछ। अहिले राष्ट्रिय स्वाधीनतामा परिरहेको असरबारे पनि ओलीको प्रतिवेदनमा उल्लेख हुने उनले जानकारी दिए।
आजको बिहीबारको बैठकमा ओलीले राजनीतिक प्रतिवेदनको मूल स्पिरिटबारे जानकारी दिँदै नेताहरुसँग सुझाव मागेका थिए। ओलीले गत चुनावमा ठूलो धाँधली भएर केही संख्यात्मक रुपमा एमाले पछि परे पनि पपुलर मत एमालेकै बलियो रहेको बताएका थिए।
उनले चुनाव हार्नुमा पार्टीभित्रको आन्तरिक गतिविधि पनि कारक रहेको बैठकमा उल्लेख गरेका थिए। शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकले ४ नयाँ केन्द्रीय सदस्यहरुको शपथ र जिम्मेवारी बाँडफाँट, उम्मेदवारको छनोट मापदण्ड पारित गर्नेछ। त्यस्तै, स्थानीय तह चुनाव छानबिन समिति कार्यदलको रिपोर्ट पेस कार्यसूची पनि छ।