काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले शिष्टाचार भेटघाट गरेकी छन्।
गृह मन्त्रालयमा बिहीबार भएको भेटमा राजदूत पोलिटले नेपालको संक्रमणकालीन न्यायबारे चासो व्यक्त गरेको बताइएको छ। जवाफमा मन्त्री खाणले राजनीतिक द्वन्द्व व्यवस्थापनका लागि सरकार विभिन्न राजनीतिक समूह र विद्रोहीसँग गरिएका सहमति कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका थिए।
उनले नेत्रविक्रम चन्द विप्लव, जनमत पार्टी र थारु कल्याणकारी सभासँग भएका सहमति कार्यान्वयनको चरणमा रहेको जानकारी राजदूतलाई गराएका थिए। सरकार दिगो शान्ति स्थापना, लोकतन्त्रको सुदृढीकरणका लागि विभिन्न राजनीतिक दलहरूसँग सहमति गरिएको र त्यो सहमति कार्यान्वयनको चरणमा रहेको उनको भनाइ थियो।
नेपालको संक्रमणकालीन अवस्थालाई निराकरण गर्न अन्तर्राष्ट्रिय नियोग र विदेशी समुदायले प्रदान गरेको सहयोगका लागि मन्त्री खाणले बेलायती राजदूतलाई धन्यवाद व्यक्त गरेका थिए।
भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको थियो। भेटमा गृहमन्त्री खाणले बेलायतको सहयोगमा सन् २०१४–२०२१ सम्म इन्टिग्रेटेड प्रोग्राम फर स्ट्रेन्थिङ अफ सेक्युरिटी एण्ड जस्टिस (आइपीएसएसजे) परियोजना सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा राजदूत पोलिटलाई धन्यवाद दिएका थिए।